विष्णु पौडेल पक्राउप्रति एमालेको आपत्ति, सरकारमाथि राजनीतिक प्रतिशोधको आरोप

नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतमा पक्राउ गरिएको घटनाप्रति कडा आपत्ति जनाउँदै सरकारमाथि राजनीतिक प्रतिशोधको आरोप लगाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको प्रेस वक्तव्यमा पौडेललाई कानुनी प्रक्रिया र राजनीतिक मर्यादाविपरीत ‘अपहरण शैलीमा’ पक्राउ गरिएको दाबी गर्दै उक्त घटनाको घोर निन्दा गरेका छन्।वक्तव्यमा वर्तमान सत्तापक्षले विपक्षी दलप्रति अराजनीतिक, अलोकतान्त्रिक तथा प्रतिशोधपूर्ण व्यवहार गरिरहेको आरोप लगाइएको छ। एमालेले पौडेलमाथिको कारबाहीलाई विपक्षी शक्तिलाई दबाबमा पार्ने प्रयासका रूपमा चित्रण गरेको छ।

पार्टीका अनुसार पौडेल सुर्खेतमा आयोजित संगठनात्मक कार्यक्रममा सहभागी भएका थिए र कार्यक्रम सम्पन्न गरी सोमबार काठमाडौं फर्किने पूर्वनिर्धारित तालिका रहेको थियो। यस्तो अवस्थामा सामान्य कानुनी प्रक्रियाबाट पनि अनुसन्धान गर्न सकिने भए पनि पक्राउको बाटो रोजिएको भन्दै एमालेले असन्तुष्टि जनाएको छ।

एमालेले सार्वजनिक जीवनमा लामो समय सक्रिय रहँदै आएका तथा कानुनको सम्मान गर्ने राजनीतिक नेतृत्वलाई ‘सस्तो राजनीतिक प्रचार’ का लागि लक्षित गरिएको आरोप लगाएको छ। पार्टीले यस घटनालाई आफ्नोविरुद्ध भइरहेको योजनाबद्ध राजनीतिक दबाब र पूर्वाग्रहको निरन्तरताका रूपमा व्याख्या गरेको छ। वक्तव्यमार्फत एमालेले सरकार लोकतान्त्रिक मूल्य-मान्यताबाट विचलित हुँदै अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको आरोप समेत लगाएको छ। विपक्षी नेतामाथि लक्षित यस्ता गतिविधि तत्काल रोक्न सरकारलाई चेतावनी दिँदै पार्टीले लोकतन्त्र, न्याय र राष्ट्रिय हितका पक्षधर शक्तिलाई एकजुट भएर प्रतिवाद गर्न आह्वान गरेको छ।