राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको नामावली संशोधन गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले मत परिणाम र उम्मेदवारीसम्बन्धी कागजात पुनः परीक्षणपछि सूची सच्याएको जनाएको हो। भुवन केसीको अध्यक्षतामा रहेको निर्वाचन आयोगले चितवनको भरतपुरमा सम्पन्न महाधिवेशनपछि सार्वजनिक गरिएको नतिजामा क्लस्टर मिलानका क्रममा त्रुटि भएको गुनासो आएपछि आवश्यक अध्ययन गरी संशोधित निर्णय सार्वजनिक गरेको हो। संशोधित सूचीअनुसार केन्द्रीय सदस्यमा समावेश गरिएका कृष्णमान श्रेष्ठ र सोम शर्माको नाम हटाइएको छ। उनीहरूको स्थानमा क्रमशः ध्रुवकुमार थापामगर र पूजा बास्तोलालाई निर्वाचित घोषणा गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार महाधिवेशन निर्वाचन कार्यविधि-२०८३ बमोजिम जनजाति क्लस्टरतर्फ उम्मेदवारी दर्ताका कागजात, मत परिणाम र सम्बन्धित प्रमाणको पुनः परीक्षण गर्दा कृष्णमान श्रेष्ठको सट्टा ध्रुवकुमार थापामगर निर्वाचित हुनुपर्ने देखिएको निष्कर्ष निकालिएको हो। त्यसैगरी, प्रादेशिक (भूगोलतर्फ) गण्डकी प्रदेशको मत परिणामको पुनरावलोकन गर्दा पूजा बास्तोला निर्वाचित हुनुपर्ने अवस्थामा त्रुटिवश सोम शर्माको नाम समावेश भएको पुष्टि भएपछि बास्तोलालाई निर्वाचित घोषणा गरिएको आयोगले स्पष्ट पारेको छ।




















