प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकमा सुशासन, समृद्धि र भ्रष्टाचार नियन्त्रणका लक्ष्य हासिल गर्न सरकार, संसद् र न्यायपालिकाबीच प्रभावकारी समन्वय र साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।
६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको गति तथा भावना एकै दिशामा अघि बढे मात्रै जनताको अपेक्षाअनुसार परिणाम हासिल गर्न सकिने धारणा राखे। यद्यपि, यस्तो समन्वय संविधानको मर्म, शक्ति पृथकीकरणको सिद्धान्त र कानुनी राज्यको अवधारणाभित्रै रहेर हुनुपर्नेमा उनले जोड दिए।सभामुख अर्यालले देशलाई तीव्र गतिमा समृद्धितर्फ अघि बढाउने, जनजीविकाका सवाल सम्बोधन गर्ने र सुशासनलाई प्रभावकारी बनाउने साझा उद्देश्यमा तीनै राज्य अङ्ग एकताबद्ध हुनुपर्ने बताए। उनले वैदेशिक रोजगारीका कारण विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कने विश्वास र वातावरण सिर्जना गर्न सरकारसहित सबै सरोकारवाला सक्रिय हुनुपर्ने उल्लेख गरे। नेपाललाई बस्न, काम गर्न र भविष्य निर्माण गर्न योग्य देशका रूपमा स्थापित गर्न नागरिक समाज र सम्बन्धित निकायको निरन्तर खबरदारी तथा रचनात्मक सुझाव आवश्यक रहेको उनको भनाइ थियो।
सभामुख अर्यालले संसद्मा कहिलेकाहीँ प्रक्रियागत र मर्यादासम्बन्धी बहसले विकास, सुशासन र भ्रष्टाचार नियन्त्रणजस्ता जनसरोकारका विषय ओझेलमा पर्ने गरेको भन्दै त्यसप्रति सचेत हुन आग्रह गरे। संसद्को ऊर्जा जनजीवनसँग प्रत्यक्ष जोडिएका मुद्दा समाधानमा केन्द्रित हुनुपर्ने उनले बताए।उनले मुलुकको विकास यात्रामा अग्रज पुस्ताको अनुभव र नयाँ पुस्ताको प्रविधिमैत्री सोचलाई संयोजन गर्न सके नेपालले तीव्र प्रगति गर्न सक्ने विश्वास व्यक्त गरे। लोकतान्त्रिक अभ्यासको आधार निर्माण गर्ने अग्रज पुस्ताको योगदानको सम्मान गर्दै उनीहरूको अनुभवबाट सिक्न र नयाँ पुस्ताको सिर्जनशीलता तथा नवीन सोचलाई पनि आत्मसात् गर्नुपर्नेमा उनले जोड दिए।



















