कांग्रेसको दाबी- संविधान संशोधन कार्यदलबाट दलहरू बाहिरिनुपर्छ भन्ने पहिल्यै थाहा थियो

नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले गठन गरेको संविधान संशोधन बहस कार्यदलबाट दलहरू बाहिरिने अवस्था आउने आफूलाई वैशाखमै थाहा रहेको दाबी गरेका छन् । बिहीबार ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘अहिले सबै राजनीतिक ढिलै भएपनि आफ्ना प्रतिनिधिलाई फिर्ता बोलाउनुभएको छ । यो अवस्था आउँछ भन्ने कुरा हामीलाई वैशाखमै थाहा थियो,’ सभापति थापाले भने, ‘त्यसैले हामीले वैशाखदेखि नै आफ्नो संविधान संशोधनको छलफल गर्नथाल्यौं- आफ्नैभित्र, अरुसँग । तर, हामीले त्यहाँ प्रतिनिधि पठाएनौं ।’

संविधान संशोधनका विषयमा सुरुदेखि नै कांग्रेसले दुई वटा प्रस्ताव राख्दैआएको उनले बताए । ‘हामीले के भनेका छौँ भने संविधान संशोधनका विषयमा सर्वोच्च अदालतका बहालवाला वा अवकाशप्राप्त न्यायाधीश, विज्ञहरू सम्मिलित भएको एउटा समिति बनाएर प्रारम्भ गर्नसक्छौं । वा अहिले हामी संसद्मा छौं, संसद् छ । संसद्भित्रैबाट पनि समिति बनाएर जान सक्दछौं,’ सभापति थापाले भने ।

यी दुई वटा विकल्पले मात्रै संविधान संशोधनको गम्भीरतालाई प्रष्ट बनाउने उनले दाबी गरे । प्रक्रियागत रूपमा पनि संविधान संशोधनका प्राथमिकता निर्धारण हुनुपर्ने कांग्रेसको धारणा रहेको उनले बताए ।

पहिलो चरणमा संविधानले नै १० वर्षमा पुनरावलोकन गर्नुपर्ने कुरा औँल्याएका विषयमा संशोधन हुनुपर्ने उनले बताए । ‘त्यसपछि विश्वासको वातावरण बन्दैजान्छ, अनि मात्रै शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीयता जस्ता विषयमा जहाँ केही संशोधनका आवश्यकताहरू छन् । ती कुरामा प्रवेश गर्ने कुरा उपयुक्त हुन्छ भन्ने कुरा ठान्दछौं,’ उनले भने ।

एकैचोटि खोल्दिने हो भने नेपाल अझ ठूलो आगोको भुंग्रोमा पस्ने बताए ।