नेपाली समाजले गणेश नेपालीको जस्तै फेरि अर्को कुनै अप्रिय घटना सुन्नु नपरोस् : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुकुम्वासीका पीडालाई राज्यले उपेक्षा गरेको आरोप लगाएका छन्। सुरक्षित गर्ने नाममा सरकारद्वारा घरबारविहीन बनाइएका सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूले आमसञ्चार माध्यमहरूमा व्यक्त गरेका पीडाहरू अत्यन्तै गम्भीर, हृदय विदारक र संवेदनशील भएको बताएका छन्।

उनले भनेका छन्, ‘एकातिर उठिबास लगाउनु र अर्कोतिर सरकार आफैँले स्थापना गरेका होल्डिङ सेन्टरहरू समेत व्यवस्थापन गर्न नसकेर खाली गर्न लगाउनु, अनि त्यहाँ आश्रित नागरिकलाई गाँस र पानीसमेत बन्द गरिनुले अमानवीयताको हद पार गरेको छ। त्यसमाथि सरकारले सुरक्षित राखेको भनेका होल्डिङ सेल्टर नै डुबानमा परेका समाचार आइरहेका छन् ।’

असुरक्षित र अनधिकृत क्षेत्रमा बसेका सुकुम्वासीहरूलाई हटाउनु पूर्व उचित व्यवस्थापन र पुनर्स्थापना गर्नु राज्यको पहिलो दायित्व भएपनि सरकार चुकेको आरोप लगाए।

‘नागरिकलाई त्रासमा राखेर, सास्ती दिएर होइन, उनीहरूको सुरक्षित आवास र बाँच्न पाउने हकको सम्मान गरेर मात्र कानुनी राज्यको मर्यादा जोगाउन सकिन्छ’ उनले भनेका छन्, ‘नेपाली समाजले गणेश नेपालीको जस्तै फेरि अर्को कुनै अप्रिय घटना सुन्नु नपरोस् । त्यसतर्फ सरकारको समयमै ध्यान जाओस् ।’