सुकुम्बासीलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलियो : आङ्देम्बे

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्वासी बस्तीबाट स्थानान्तरण गरिएका नागरिकको व्यवस्थापनप्रति सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन् ।

उनले सुरक्षित आवासको सुनिश्चितता गर्ने सरकारी प्रतिबद्धता व्यवहारमा कार्यान्वयन नभएको आरोप लगाएका छन्।आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहले यसअघि जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित र व्यवस्थित स्थानमा स्थानान्तरण गरिने सार्वजनिक प्रतिबद्धता जनाएको स्मरण गराएका छन् ।

उनले उक्त प्रतिबद्धता अहिले कार्यान्वयन भएको नदेखिएको भन्दै प्रधानमन्त्रीसँग स्पष्ट जवाफ मागेका छन्। कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिएका सुकुमवासीहरू थप समस्यामा परेको उल्लेख गर्दै उनले सरकारले जोखिम न्यूनीकरण गर्नुको सट्टा नागरिकलाई अर्को संकटमा पुर्‍याएको दाबी गरेका छन्।

आङ्देम्बेले ज्यान जोखिममा रहेका नागरिकका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ भनी प्रधानमन्त्री बालेनले गरेको पुरानो वाचा आज कहाँ हरायो भन्दै आक्रोश व्यक्त गरेका छन्।