अब सरकारी जागिरबाट पेन्सन पाएकाले करारमा काम गर्न नपाउने

सरकारले सरकारी सेवाबाट अवकाश पाएर पेन्सन वा उपदान लिइरहेका कर्मचारीलाई पुनः करार सेवामा राख्न नपाइने निर्णय गरेको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार परिपत्र जारी गर्दै २०८३ साउन १ गतेदेखि निवृत्तिभरण पाइरहेका वा उपदान लिइसकेका करारका कर्मचारीको सेवा निरन्तरता नदिने जनाएको हो।

मन्त्रालयका शाखा अधिकृत सजिव नेपालको हस्ताक्षर गरी कार्यान्वयनका लागि सम्बन्धित सबै निकायमा पठाएको परिपत्रमा पेन्सन पाएर करारमा काम गरिरहेका कर्मचारीहरूलाई धन्यवादसहित बिदाइ गर्ने निर्णय सरकारले गरेको उल्लेख छ ।