काठमाडौं, साउन १। नेपाल कम्युनिष्ट पार्टी (जनपक्ष) ले मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल र नेपाल सरकारबीच भइरहेको वार्तालाई सकारात्मक रूपमा लिएको जनाएको छ। यद्यपि विगतका सहमति कार्यान्वयन नभएको अनुभवका कारण सरकारप्रति पूर्ण विश्वास गर्न सकिने अवस्था नरहेको भन्दै आन्दोलनलाई निरन्तर जारी राख्न आग्रह गरेको छ।
पार्टीका प्रवक्ता दिनेश बर्तौलाद्वारा जारी प्रेस वक्तव्यमा असार २५ गते जनकपुरको ऐतिहासिक तिरहुतिया गाछीबाट सुरु भएको “मिटरब्याज विरुद्ध तेस्रो (पैदल) न्याय मार्च” प्रति पार्टीले ऐक्यबद्धता जनाएको छ। साथै, उत्पीडित नागरिकलाई राजधानी प्रवेश गर्न रोक्ने काठमाडौं महानगरको कदमको भर्त्सना गर्दै सरकार र आन्दोलनकारीबीच वार्ता सुरु हुनु सकारात्मक भएको उल्लेख गरिएको छ।
वक्तव्यमा मिटरब्याजलाई गम्भीर आर्थिक तथा सामाजिक शोषण र अपराधको रूपमा व्याख्या गर्दै मिटरब्याजीहरूले तयार गरेका अवैधानिक तथा फर्जी लिखत र झुटा मुद्दा खारेज गर्न, पीडितहरूको घरजग्गा तथा सम्पत्ति फिर्ता गर्न र मिटरब्याजीहरूको सम्पत्तिको छानबिन गरी कानुनी कारबाही गर्न माग गरिएको छ।
नेकपा (जनपक्ष) ले यसअघि सरकार र आन्दोलनकारीबीच चारवटा लिखित सहमति भइसकेको, तीनवटा उच्चस्तरीय जाँचबुझ आयोग तथा कार्यदलले प्रतिवेदन बुझाइसकेको भए पनि ती कार्यान्वयन नभएको स्मरण गराएको छ। नयाँ सरकार गठन भएको १०० दिनभन्दा बढी बितिसक्दा पनि ठोस पहल नभएको र मिटरब्याज पीडितमाथिको सम्पत्तिहरण तथा न्यायहरण जारी रहेको भन्दै सरकारले यसपटक पनि प्रतिबद्धता पूरा नगर्ने जोखिम रहेको पार्टीको भनाइ छ।
पार्टीले वार्तालाई ऐतिहासिक उपलब्धिसहित निष्कर्षमा पुर्याउन “मिटरब्याज विरुद्ध तेस्रो (पैदल) न्याय मार्च” लाई निरन्तर जारी राख्न तथा देशभरबाट सकारात्मक जनदबाब सिर्जना गर्न सम्पूर्ण मिटरब्याज पीडित परिवार, आन्दोलनकारी र आम जनसमुदायलाई अपिल गरेको छ।


















