प्रधानमन्त्रीलाई दम्भ र अहंकार त्याग्न नेता सिटौलाको चेतावनी

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री बालेन्द्र साहलाई अहंकार र दम्भको राजनीति त्याग्न चेतावनी दिएका छन् । वीपी कोईराला स्मृति दिवसका अवसरमा बुधवार काठमाडौंमा पार्टीको संस्थापनइतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन दिँदै उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले एक्लै हिँडने राजनीति नगर्न समेत प्रधानमन्त्री साहलाई आग्रह गरे । उनले जेन–जी आन्दोलनको क्रममा काँग्रेसमाथि आगजनी, तोडफोड र लुटपाट मच्चिएपनि उक्त घटनाले काँग्रेसको चेतना र ऊर्जा थप बलियो बनाएको बताए । उनले विशेष महाधिवेशनको नाममा देशभित्रकै विभिन्न शक्तिहरुले काँग्रेसलाई कमजोर बनाएको टिप्पणी पनि गरे ।

उनले गत वर्षको भदौ–२४ को रापताप अझै निभिनसकेको भन्दै मुलुकमा अर्को राजनीतिक जागरण आवश्यक रहेको बताए । पार्टीलाई एकतावद्ध हुन नदिन संस्थापन पक्षले अनेक चलखेल गरिरहेको समेत उनको आरोप छ ।