नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते हुनुभएका मेडिकल अफिसर डा प्रमोद रामलाई थप उपचारका लागि काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा सेन्टर पुगेर घाइते डा रामको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उपचारमा कुनै कमी हुन नदिन चिकित्सक र अस्पताल प्रशासनलाई निर्देशन दिएको छ ।

डा रामलाई विशेषज्ञ उपचार उपलब्ध गराउनुपर्ने भएकाले आवश्यक सम्पूर्ण व्यवस्थापन मिलाइएको मन्त्रालयले जनाएको छ । मन्त्री मेहताले उपचारमा संलग्न चिकित्सकसँग छलफल गर्दै आवश्यक सबै सहयोग गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताएको छ । यसैबीच, मन्त्रालयले नारायणी अस्पतालमा भएको तोडफोड तथा चिकित्सक र स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले उपचारका क्रममा हुने कुनै पनि अप्रिय घटनाको छानबिनका लागि प्रचलित कानुनी व्यवस्था रहेकाले कानुन हातमा लिएर हिंसात्मक गतिविधि गर्नु कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट गरेको छ ।

मन्त्रालयले स्थानीय प्रशासनलाई घटनामा संलग्न दोषीको पहिचान गरी कानुन बमोजिम कारबाही अघि बढाउन आग्रह गरेको छ । साथै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई नियमित सेवा सञ्चालन गर्न अनुरोध मन्त्री मेहताले अस्पतालमा सुरक्षित र निर्भयपूर्ण वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरे ।
मन्त्री मेहताले स्वास्थ्यकर्मीमाथिको हिंसा कुनै पनि समाजका लागि स्वीकार्य नहुने उल्लेख गर्दै स्वास्थ्य संस्थामा सुरक्षित काम गर्ने वातावरण सुनिश्चित गर्नु सरकारको प्राथमिक जिम्मेवारी रहेको बताएको छ । यस्ता घटना दोहोरिन नदिन आवश्यक कानुनी तथा प्रशासनिक कदम प्रभावकारी रूपमा अघि बढाइने उनले प्रतिबद्धता जनाए ।