रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत सन् २०२६ का लागि विभिन्न क्षेत्रमा ७ हजार २ सय नेपाली छनोटका लागि आह्वान गरिएको भाषा परीक्षाका लागि ६८ हजार ५५८ बढीको आवेदन परेको छ ।
साउन ११ देखि मंगलबार राति १२ बजेसम्म खुला गरिएको परीक्षा आवेदनमा उत्पादन क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १०० र वनपैदावार क्षेत्रमा १०० गरी कुल ७ हजार २ सय नेपाली कामदारको लागि आवेदन खुला गरिएको हो।
आवेदन दिनेमध्ये ९ औँ दिन मंगलबार बेलुका ७ बजेसम्म उत्पादनमा लगभग ४८ हजार, कृषि तथा पशुपालन क्षेत्रतर्फ अनुमानित १९ हजार, बाँकी रहेका सेवा क्षेत्रमा ७८० र वन पैदावार क्षेत्रमा ७७८ आवेदन परेको छ ।
आवेदन अनलाइन भएका कारण बुधबारसम्म आवेदक संख्या बढेर ७५ हजारको हाराहारीमा पुग्ने अनुमान छ। यस अघिको अनुभवले कोरिया भाषा परीक्षामा १ लाख ६० हजारभन्दा बढी नेपालीले भाषा परीक्षाको आवेदन दिने गरेका थिए।

















