सरकारको शासकीय अराजकताबाट आक्रान्त भयो: गगन थापा

 

काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले सरकारको शासकीय अराजकताबाट आक्रान्त भएको गम्भीर आरोप लगाएका छन्।आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकार विधिसम्मत प्रक्रिया र शक्ति पृथकीकरणको सिद्धान्तको सीमा नाघेर अगाडि बढेको बताए। कार्यपालिकाले न्यायपालिकाको सीमासमेत आफैँभित्र पर्ने गरी व्यवहार गर्न थालेको, संवैधानिक निकाय र संसद्लाई समेत नमान्ने प्रवृत्ति दोहोर्‍याएको उल्लेख गर्दै उनले यस्ता गतिविधिमाथि कुनै पनि छुट दिन नहुने बताए।

प्रधानमन्त्री वालेन्द्र साहको ‘एक्सप्रेस वे’ र ‘ब्रेक नभएको गाडी’ वाला अभिव्यक्तिको प्रतिवाद गर्दै सभापति थापाले भने, ‘एक्सप्रेस वे मा स्पिडमा हिँड्न र ब्रेक नलगाउनु तपाईंको छनोटको विषय होला, तर लेनभन्दा बाहिर जान पाइँदैन। विधिसम्मत प्रक्रिया र शक्ति पृथकीकरणको सीमा नाघ्ने छुट सरकारलाई छैन।’

त्यसैगरी, गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिन प्रतिवेदन लुकाइएको विषयमा आपत्ति जनाउँदै उनले मन्त्री र सत्ताधारी सांसदहरूबाट दिनदिनै हप्कीदप्की दिने प्रवृत्ति बाहिर आउनुले मुलुकलाई सही दिशामा लैजान नसक्ने स्पष्ट पारे। वर्तमान सरकार आफ्ना बाटोबाट पूर्ण रूपमा बरालिएको जिकिर गर्दै उनले सरकारका यस्ता अराजक गतिविधिहरूमाथि कडा खबरदारी गरी सही मार्गमा ल्याउने दायित्व कांग्रेसको भएकोमा जोड दिए।