जेनजी आन्दोलनले हल्लाइदिएको पुरानो राजनीतिक संरचना फेरि संगठित हुन खोज्दैछन् । केही समयअघि रक्षात्मक अवस्थामा पुगेका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीजस्ता पुराना राजनीतिक शक्तिहरू अहिले फेरि आफ्नो प्रभाव, संगठन र राजनीतिक भविष्य जोगाउने प्रयासमा देखिन थालेका छन्।
केही महिनादेखी विदेशमा रहेका नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल फर्किएसँगै नेपाली राजनीतिमा फेरि पुरानो शक्ति केन्द्रको चर्चा चुलिएको छ । देउवाको फिर्ती त्यतिबेला भएको छ, जतिबेला कांग्रेसभित्र नेतृत्वलाई लिएर विवाद कायमै छ । त्यसैले देउवाको फिर्तीलाई सामान्य व्यक्तिगत घरफिर्तीभन्दा माथि उठाएर हेर्नुपर्ने अवस्था बनेको छ। एकातिर गगन थापा नेतृत्वलाई संस्थागत गर्ने प्रयासमा छन् भने अर्कोतिर देउवा पक्ष आफ्नो राजनीतिक प्रभाव कायम राख्ने प्रयासमा छन् ।
यसले कांग्रेसभित्रको विवादलाई फेरि सतहमा ल्याएको छ। यो विवाद केवल व्यक्तिको सभापति बन्ने भन्ने विषयमा सीमित छैन। यो पुरानो नेतृत्व र नयाँ पुस्ताबीचको राजनीतिक दिशाको संघर्ष पनि हो। कांग्रेस दुई टुक्रा भइसकेको निष्कर्षमा पुग्नु भन्दा पनि पार्टीभित्र दुई शक्ति केन्द्रबीचको टकराव भने स्पष्ट देखिन्छ।
कांग्रेसभित्र यस्तो विवाद चलिरहँदा कम्युनिस्ट राजनीतिमा पनि पुराना शक्ति केन्द्रहरूबीच नयाँ समीकरणको खोजी भइरहेको छ। ओली र प्रचण्डबीच प्रदेश सरकार तथा सत्ता समीकरणका विषयमा देखिएको नजिकिँदो सम्बन्धले नेपाली राजनीतिमा फेरि पुराना शक्तिहरूबीच सहकार्यको सम्भावना बढाएको छ।
पार्टीहरू आज राजनीतिक आवश्यकताअनुसार नजिकिन खोज्नु सामान्य सत्ता अंकगणित मात्र होइन। यसलाई सत्ता गुमाएका पुराना दलहरूले आफ्नो राजनीतिक आधार पुन: जोडेर फर्किन खोजिरहेको संकेतका रूपमा पनि हेर्न सकिन्छ। देउवाको सक्रियता र एमाले–प्रचण्ड समीकरणका सम्भावनालाई एउटै ठाउँमा राखेर हेर्दा नेपाली राजनीतिमा पुराना दलहरू फेरि विस्तारै सल्बलाउन थालेको देखिन्छ।
तर यो अवस्था किन आयो?
जेनजी आन्दोलनपछि पहिलोपटक नेपाली राजनीतिमा नयाँ राजनीतिक शक्ति स्पष्ट जनसमर्थनसहित सत्तामा पुगेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले विगतका जस्तो कमजोर गठबन्धन, भागबन्डा र सत्ता जोगाउने सम्झौतामा निर्भर हुनुपर्ने अवस्था नरहेको दाबी गर्दै आएको छ। जनताको स्पष्ट समर्थनबाट बनेको सरकार भएकाले निर्णय प्रक्रियामा पुराना शैलीका सत्ता सम्झौताको दबाब कम हुने अपेक्षा गरिएको छ। तर नयाँ शक्ति सत्तामा पुगेको केही समयमा नै पुराना दलहरू पनि आफ्नो आधार पुन: निर्माण गर्न थालेका छन्। यसको पृष्ठभूमिमा जेनजी आन्दोलनलाई बुझ्न आवश्यक हुन्छ।
जेनजी आन्दोलन केवल एउटा सरकार परिवर्तन गर्ने आन्दोलन थिएन। यसले दशकौँदेखि सत्ताको वरिपरि घुमिरहेको राजनीतिक संस्कारमाथि नै प्रश्न उठायो। नेतृत्व, शासनशैली, भ्रष्टाचार, जवाफदेहिता, पुस्तान्तरण र राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रसम्मका विषयमा नयाँ पुस्ताले प्रश्न गर्यो। त्यसको असर पुराना दलहरूले भोग्नुपर्यो । तर आन्दोलन र चुनावी धक्काले उनीहरूलाई समाप्त भने गरेन। कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीसँग अझै देशव्यापी संगठन, कार्यकर्ता, स्थानीय, प्रदेश संरचना र लामो राजनीतिक अनुभव छ। त्यसैले उनीहरू कमजोर भए पनि राजनीतिक मैदानबाट बाहिरिएका छैनन्। बरु अहिले फेरि आफ्नो संगठन, प्रभाव र शक्ति केन्द्रलाई सक्रिय बनाउने प्रयासमा लागेको छ ।
यहीँ नेपालको राजनीतिक दलसम्बन्धी अर्को समस्या पनि जोडिन्छ। राजनीतिक दल निर्वाचन लड्ने संगठन मात्र होइनन्। ती लोकतन्त्र र राजनीतिक संस्कार निर्माण गर्ने संस्था हुन्। बलियो संसदका लागि बलियो राजनीतिक दल आवश्यक हुन्छ र बलियो दलका लागि संस्थागत संस्कृति। तर नेपालको राजनीतिमा बारम्बार एउटै चक्र दोहोरिँदै आएको छ, दल ठूलो हुन्छ, जनविश्वास प्राप्त गर्छ, सत्ताको केन्द्रमा पुग्छ अनि विस्तारै गुटबन्दी, नेतृत्व संघर्ष र आन्तरिक विवादमा फस्दै जान्छ।
व्यक्तिभन्दा संस्था ठूलो हो भन्ने संस्कार कमजोर हुँदा दलहरू विभाजन र पुन:गठनको चक्रमा फस्छन्। अहिले रास्वपाको कमजोरी यही बनेको छ र कांग्रेस कम्युनिस्ट शक्तिहरू यही पृष्ठभूमिको फाईदा उठादैछ । जनताले अब ‘हामीसँग अनुभव छ’ भन्ने कुरा मात्रै सुन्न चाहँदैनन्। अब वर्षौँ सत्तामा बसेर त्यो अनुभवबाट जनताले के पाए? पुराना समस्या किन समाधान भएनन् ?नेतृत्व समयमै किन परिवर्तन भएन? र जेनजी आन्दोलनपछि पुराना दलहरू वास्तवमै बदलिए कि केवल सत्ता गुमेपछि आफ्नो रणनीति बदले? यी प्रश्नबाट पुराना दलहरू उम्कन सक्दैनन्।
पुराना दलहरूसँग दुईवटा बाटो छ, पुरानै शैलीमा नयाँ सत्ता समीकरण बनाएर फेरि सत्तामा फर्किने, वा नयाँ पुस्ताले उठाएका प्रश्न स्वीकार गरेर आफूलाई बदल्ने र त्यसपछि जनताको विश्वास माग्ने। किनकि सत्ता स्थायी होइन, जनताको विश्वास स्थायी राजनीतिक सम्पत्ती हो।
पुराना दलहरू हारेका छन्, कमजोर भएका छन्, तर समाप्त भएका छैनन्। उनीहरूसँग फेरि उठ्ने संगठन र क्षमता छ। त्यसैले अहिलेको नेपाली राजनीति नयाँ शक्ति सत्ता जोगाउने प्रयासमा र पुराना शक्ति सत्ता फर्काउने तयारीमा रहेको अवस्थामा पुगेको छ।


















