बागमती प्रदेशमा नेकपा एमालेका किरण थापा नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले थापालाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । राप्रपाको समर्थन विवादमा परेका बेला प्रदेश प्रमुखले मुख्यमन्त्रीमा थापाकाे नियुक्ति प्रक्रिया अघि बढाएका हुन् । प्रदेश प्रमुखले आज अपराह्न ४ बजे थापालाई मुख्यमन्त्री नियुक्त गर्ने भएका हुन् ।
त्यसपछि ४ः २० बजे शपथ समारोह आयोजना गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार, संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यका रूपमा थापालाई मुख्यमन्त्री नियुक्त गर्न लागिएको हो ।
एमाले, नेकपा र राप्रपाको समर्थनसहित थापालाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै निवेदन प्राप्त भएकाले सोही आधारमा सरकार गठनको प्रक्रिया अघि बढाइने प्रदेश प्रमुखको कार्यालयले स्पष्ट पारेको छ । यसैबीच, पार्टीको निर्णयविपरीत सरकार गठन प्रक्रियामा सहभागी भएको भन्दै राप्रपाले संसदीय दलका नेता उद्धव थापालगायतका नेतामाथि कारबाहीको तयारी थालेको छ ।



















