परराष्ट्रमन्त्री शिशिर खनाल आगामी १४ भदौमा सर्बिया जाने भएका छन् । सर्बियाको राजधानी बेलग्रेडमा आयोजना हुने असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरणसभा (हाइलेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन उनी सर्बिया जान लागेका हुन् ।
भदौ १५ र १६ गते बेलग्रेडमा हुने स्मरणसभामा परराष्ट्रमन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । सन् १९६१ मा बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन आयोजना भएको थियो ।
पहिलो सम्मेलनको ६५औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष बेलग्रेडमा उच्चस्तरीय स्मरणसभा आयोजना गर्न लागिएको हो। स्मरणसभामा विश्वका नेता, विभिन्न मुलुकका प्रतिनिधिमण्डल तथा असंलग्न आन्दोलनमा सहभागी राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ।


















