आकस्मिक बाढीले टिमुरे बजारमा ठुलो क्षति

रसुवा जिल्लामा बुधबार बिहान आएको आकस्मिक बाढीले टिमुरे बजारमा ठुलो क्षति पुर्‍याएको छ । बिहान करिब ९ बजे आएको आकस्मिक बाढीले टिमुरे बजारका बस्तीमा ठुलो क्षति पुगेको प्रहरीले जानकारी दिएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी दीपक रेग्मीका अनुसार टिमुरे बजारमा धेरै वटा घरहरू बगाएको छ । ‘त्यहाँ ५-७ वटा घर मात्र बाँकी छ भन्ने प्रारम्भिक सूचना आएको छ । क्षतिको यकिन विवरण आएको छैन,’ रेग्मीले रातोपाटीसँग भने ।
उनका अनुसार इलाका प्रहरी कार्यालयमा १५ जना प्रहरी कार्यरत रहेकोमा हालसम्म ८ जना मात्र सम्पर्कमा आएका छन् । थप विवरण बुझ्ने प्रयास भइरहेको उनले बताए ।

यता, बाढी पूर्वानुमान महाशाखाले चेतावनी जारी गर्दै रसुवाको भोटेकोसी नदीमा तिब्बत तर्फबाट ठुलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउदासम्म त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।