जिल्ला प्रशासन कार्यालय काठमाडौंले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न काठमाडौं जिल्लाभित्र रहेका संघ–संस्था, व्यक्ति, कम्पनी, क्लब तथा नागरिकलाई अपिल गरेको छ। कार्यालयले जारी गरेको सूचनामा भदौ १० गते आएको बाढीबाट नदी किनारका क्षेत्रमा ठूलो क्षति पुगेकाले प्रभावितलाई तत्काल आवश्यक राहत उपलब्ध गराउन सहयोग गर्न आग्रह गरिएको छ। पछिल्लो बाढीबाट रसुवा, नुवाकोट, धादिङसहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ र उद्धार तथा राहतको काम जारी छ।
प्रशासनका अनुसार खाद्यान्न, लुगा, लत्ताकपडा, भाँडाकुँडा तथा अन्य घरायसी प्रयोजनका सामग्री संकलन गरी उपलब्ध गराउन सकिनेछ। काठमाडौंमा संकलन हुने राहत सामग्री एकद्वार प्रणालीमार्फत जिल्ला प्रशासन कार्यालयमा जम्मा गरिने र सम्बन्धित जिल्लाका सुरक्षा निकाय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा प्रभावित तथा पीडितसमक्ष पुर्याइने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ।
राहत सामग्री उपलब्ध गराउन इच्छुक व्यक्ति तथा संस्थाले काठमाडौं जिल्ला प्रशासन कार्यालयकी प्रशासनिक अधिकृत सुजन कुमारी बर्देवा लाई ९८४१७९६५४२ मा सम्पर्क गर्न सक्ने सूचनामा उल्लेख छ। त्यस्तै, नगद सहयोग गर्न चाहनेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा वा उपलब्ध गराइएको क्यूआरमार्फत रकम जम्मा गर्न सक्ने प्रशासनले जनाएको छ।
सरकारले रसुवा, नुवाकोट र धादिङलाई बाढीका कारण तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ।



















