परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच बिहीबार टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा दुई विदेशमन्त्री बीच नेपालमा पछिल्लो समय उत्पन्न विपद्को अवस्था तथा त्यसबाट प्रभावित नागरिकको खोज, उद्धार र राहतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो विपद्का कारण जनधन तथा भौतिक संरचनामा ठूलो क्षति पुगेको अवस्थामा दुई देशका विदेश मन्त्रीबीच उक्त टेलिफोन वार्ता भएको हो ।
सो अवसरमा दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनले विपद्का कारण ज्यान गुमाएका तथा प्रभावित नेपाली नागरिकप्रति गहिरो समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा नेपाल र नेपाली जनताप्रति दक्षिण कोरियाको ऐक्यबद्धता रहेको बताए। परराष्ट्रमन्त्री खनालले विपद्बबाट प्रभावित सबैको खोज, उद्धार तथा राहतका लागि नेपाल सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराए । उनले प्रभावित नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार र राहत कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर आवश्यक सबै प्रयास गरिरहेको बताए ।


















