इक्वेडरले एल निनो जलवायु घटनाका कारण शनिबार देशभर उच्च सतर्कता जारी गर्दै आपत्काल घोषणा गरेको अधिकारीहरूले बताएका छन् । इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एल निनोको सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता जारी गरेको हो । सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा अन्य आपत्कालीन उपाय समन्वय गर्न सम्बन्धित समितिहरू सक्रिय हुनेछन् ।
एल निनोका कारण मध्य र पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको समुद्री सतहको तापक्रम बढ्नुका साथै हावाको बहाव, वायुदबाब र वर्षाको ढाँचामा परिवर्तन आउने गर्छ । यसले माछा मार्ने गतिविधि र चराहरूको बसाइँसराइमा समेत असर पार्न सक्छ ।
इक्वेडरले देशको पूर्वी क्षेत्रमा पर्ने अमेजन क्षेत्रमा खडेरी र डढेलोको जोखिम बढ्ने अनुमान गरेको छ । यस वर्षको एल निनोले मध्य अमेरिकाका केही क्षेत्रमा गम्भीर खडेरी तथा इन्डोनेसियामा डढेलोको जोखिम बढाएको अधिकारीहरूले बताएका छन् ।
वैज्ञानिकहरूका अनुसार हालको एल निनो वर्षको अन्त्यतिर उत्कर्षमा पुग्न सक्ने र सन् २०२७ मा विश्वव्यापी तापक्रममा उल्लेखनीय वृद्धि हुन सक्ने अनुमान गरिएको छ । पानामा, होन्डुरस र एल साल्भाडोरले यसअघि नै एल निनोका कारण आपत्काल घोषणा गरिसकेका छन् । पेरुले पनि एल निनोका कारण तीव्र गर्मी र वर्षाको जोखिमलाई ध्यानमा राख्दै आफ्ना करिब एकतिहाइ सहरमा आपत्काल घोषणा गरेको छ ।


















