काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा पोस्ट गरेर चुनाव जिते पनि विपद्को सङ्कट समाधान हुन नसक्ने भन्दै प्रधानमन्त्रीको कार्यशैलीप्रति कडा टिप्पणी गरेका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले विपद्को यस घडीमा जनताले सामाजिक सञ्जालका पोस्ट र आश्वासन नभई सरकारको प्रत्यक्ष उपस्थिति, उद्धार र राहत खोजेको बताएका हुन्।
प्रचण्डले भने, ‘पीडित नागरिकले सोसियल मिडियामा पोस्ट होइन, उद्धार र राहत खोजेका छन्। सामाजिक सञ्जालमा पोस्ट गरेर चुनाव त जित्नुभयो, तर यसरी सङ्कट समाधान हुँदैन। आज सङ्कट र दुःखमा राज्य देखिनुपर्छ, विपत्तिमा सिङ्गो राष्ट्र एकजुट देखिनुपर्छ।’
प्रधानमन्त्रीले सबै दल र आफ्नै सांसदहरूलाई समेत विश्वासमा लिन नसकेको आरोप प्रचण्डले लगाए। संसद्मा प्रधानमन्त्रीको उपस्थितिको शैलीप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘प्रधानमन्त्रीजी आउनुभयो, केही ब्रिफिङ सुनाउनुभयो, त्यसका लागि धन्यवाद दिन्छु। तर उहाँ आउनुहुन्छ र कसैको अनुहार पनि नहेरी जानुहुन्छ, यो के तरिका हो ?’
प्रधानमन्त्री सबैको साझा अभिभावक भएकाले प्रतिपक्ष सांसदलाई होइन आफ्नै सांसदहरूको पनि विश्वास जित्न नसकेको उनले बताए । ‘हामी सबैले सहयोग गर्छा भनिरहेका छौँ। तर उहाँले प्रतिपक्षलाई मात्र होइन, आफ्नै सांसदहरूलाई पनि विश्वासमा लिने मेहनत गर्नुभएको देखिएन। अरूका अनुभव पनि महत्त्वपूर्ण हुन सक्छन् भन्नेतर्फ उहाँको ध्यान जान सकेको छैन’, प्रचण्डले भने ।
प्रधानमन्त्रीलाई गम्भीर बन्न आग्रह गर्दै प्रचण्डले समयमै सबैको विश्वास जित्न नसके समयले कसैलाई नपर्खिने चेतावनी दिए। उनले भने, ‘तपाईंको नेता प्रधानमन्त्रीजी हामी सबैको प्रधानमन्त्री हो। उहाँले गम्भीर भएर सबैको विश्वास जित्न सक्नुभएन भने समयले उहाँलाई पनि नपर्खिन सक्छ, यति ध्यान रहोस्।’


















