यसवर्ष १६६ वटा कानून बनाउने लक्ष्य छ-मन्त्री गौतम

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकार कानून निर्माणको प्रक्रियालाई गति दिन तयार रहेको बताएकी छन्। प्रतिनिधि सभाको मंगवबारको बैठकमा राष्ट्रिय क्षेत्राधिकार बाहिरको सामुन्द्रिक जैविक विविधताको संरक्षण र दिगो उपयोगसम्बन्धी (बिबिएनजे) सम्झौतामाथि सांसदहरूले उठाएका प्रश्नको जबाफ दिँदै उनले पछिल्ला प्राकृतिक विपत्तिहरूलाई मध्यनजर गर्दै विकासको मोडल पुनर्विचार गर्नुपर्ने बताइन्।

‘हामीले विपदलाई केन्द्रमा राखेर कानुन बनाउनुपर्ने आजको आवश्यकता छ। विकास निर्माणमा रेजिलियन्ट (लचिलो) मोडल अपनाउनुपर्छ र त्यसका लागि सरकार दृढ छ। सन्धि सम्झौता मात्र गरेर हुँदैन, त्यसलाई कार्यान्वयन गर्ने कानुनहरू पनि समयमै बन्नुपर्छ। यस वर्ष हामी १६६ वटा कानून बनाउने लक्ष्यमा छौं र अहिलेसम्म ४० भन्दा बढी दर्ता भइसकेका छन्,’ उनले भनिन्।

मन्त्री गौतमले आदिवासीका मौलिक ज्ञान र स्थानीय सीपलाई कानून निर्माणमा समेट्ने प्रतिबद्धतासमेत व्यक्त गरेकी थिइन्।