वसन्तपुर दरबार क्षेत्रमा आज सामूहिक कुमारी पूजा गरिएको छ । तलेजु भवानी मन्दिर अगाडी महिनावारी सुरु नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार सामूहिक कुमारी पूजा गरिएको हो । यसरी सामूहिक कुमारी पूजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
त्यस्तै कुमारी पूजा गर्दा उनीहरू रोग आदिबाट सुरक्षित हुने जनविश्वास रहेको छ । नेवार समुदायमा ईही (बेल विवाह)नगरेको २ वर्षदेखि ८ वर्ष उमेर समूहका बालिकाहरूलाई कुमारीका रूपमा पूजा गर्ने प्रचलन रहेको छ।
पूजासँगै यहाँ सहभागी कुमारीलाई हनुमान ढोकामा रहेको तलेजु भवानीको मन्दिर परिक्रमा गराई मूल स्थानमा पूजा गर्ने गरिन्छ ।


















