रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले रुसमा रहेका नेपाली नागरिकहरूले भोगिरहेका समस्याहरूतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद ओलीले रुससँगको द्विपक्षीय बैंकिङ सम्बन्ध, छात्रवृत्ति प्राप्त विद्यार्थीहरूको एनओसी, चिकित्सा शिक्षाको मान्यता र श्रम स्वीकृतिलगायतका विषयमा तत्काल नीतिगत पहल गर्न माग गरेका हुन् ।

सांसद ओलीले हाल रुसमा रहेका नेपालीहरूले आफ्नो कमाई वैधानिक रूपमा नेपाल पठाउन नसकिरहेको अवस्थालाई पहिलो गम्भीर समस्याका रूपमा औंल्याए । रुस-युक्रेन युद्धपछि रुसी बैंकहरू अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट प्रभावित हुँदा नेपाली नागरिकले नगद नै बोकेर नेपाल ल्याउनुपर्ने बाध्यात्मक अवस्था रहेको उनले बताए । यसले हुण्डीजस्तो अनौपचारिक कारोबारलाई प्रश्रय दिने भन्दै उहाँले भारतसँगको बैंकिङ संयन्त्र जस्तै अन्य विकल्पहरूको खोजी गर्न राष्ट्र बैंकलाई आग्रह गरे । शिक्षाको क्षेत्रमा देखिएका समस्याबारे बोल्दै उहाँले भन्नुभयो, ‘रुस सरकारले दिएको पूर्ण छात्रवृत्ति पाएका नेपाली विद्यार्थीले समेत एनओसी नपाउँदा अवसर गुम्ने जोखिम बढेको छ ।’

रुसबाट चिकित्सा शिक्षा हासिल गरेका डाक्टरहरूको दर्ता र इन्टर्नसिपमा देखिएको जटिलता अन्त्य गर्न नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले ‘इक्विभ्यालेन्ट म्याट्रिक्स’ तयार गर्नुपर्नेमा उनले जोड दिए । श्रम स्वीकृतिको विषयमा धारणा राख्दै सांसद ओलीले सैन्य क्षेत्रमा रोक लगाउनु ठीक भएपनि गैर–सैन्य क्षेत्रमा चरणवद्ध रूपमा श्रम स्वीकृति खुलाउन सरकारलाई सुझाव दिए ।