भारतको उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएपछि नेपालमा वर्षाको गतिविधि पनि क्रमशः घट्दै जाने मौसमविद्ले बताएका छन्। यद्यपि आज दिउँसो देशका विभिन्न स्थानमा वर्षा हुने र एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार न्यूनचापीय क्षेत्र नेपालको लुम्बिनी र सुदूरपश्चिम प्रदेशको दक्षिणतर्फ रहेकाले पछिल्लो समय ती क्षेत्रमा वर्षा केन्द्रित भएको हो। बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावासमेत गएराति नेपालको मध्य भूभागमा केन्द्रित हुँदा मध्य क्षेत्रका विभिन्न स्थानमा ठूलो वर्षा भएको उनले बताए। हाल न्यूनचापीय प्रणाली कमजोर भइसकेको र यसको प्रभाव पनि घट्दै गएकाले वर्षाको गतिविधि क्रमशः कम हुने देखिएको छ। तर न्यूनचापीय क्षेत्र र बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण मधेश, बागमती र कोशी प्रदेशको पश्चिमी भूभागमा बादल लागेको छ। ती क्षेत्रमा पनि वर्षा हुन सक्ने सम्भावना रहेको मौसमविद् अधिकारीले बताएका छन्।
सुदूरपश्चिममा मध्यम वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
आज दिउँसो विशेषगरी सुदूरपश्चिम प्रदेशका हिमाल, पहाड र तराईका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कर्णालीदेखि पूर्वतर्फ मधेश प्रदेशसम्मका विभिन्न भूभागमा पनि वर्षा जारी रहने भए पनि अधिकांश स्थानमा भारी वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ। मधेश प्रदेश, बागमतीको तल्लो भूभाग तथा चितवन आसपास, गण्डकीको तल्लो तथा पहाडी भूभाग, हिमाली क्षेत्र, लुम्बिनीको दक्षिणी भूभाग र सुदूरपश्चिमका केही स्थानमा भने भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। कोशी प्रदेशको पूर्वी भूभागमा तुलनात्मक रूपमा कम वर्षा हुने देखिएको छ। पश्चिमी भूभागका धेरै स्थानमा बादल लागे पनि तत्काल ठूलो वर्षा भइरहेको अवस्था नरहेको मौसमविद् अधिकारीले बताए।
आज रातिदेखि भने मौसममा उल्लेख्य सुधार आउने र भारी वर्षाको सम्भावना नरहने उनको भनाइ छ। न्यूनचापीय प्रणाली कमजोर बन्दै गएकाले आगामी समयमा वर्षाको गतिविधि पनि क्रमशः घट्दै जाने अनुमान गरिएको छ।

















