मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, आरोहणमा गएका २२ जना सबै नेपाली

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ । हिमपहिरोमा परी मानवीय क्षति भएको आशंका गरिएको छ । हिमाल आरोहणका लागि गएका २२ जनामध्ये करिब एक दर्जन व्यक्ति बेपत्ता भएको आशंका गरिएको छ । उनीहरूमध्ये ९ जना पर्वतारोही र १३ जना सहयोगी कर्मचारी रहेको प्रहरीले जनाएको छ ।

घटनापछि उद्धारका लागि काठमाडौंंबाट हेलिकाेप्टर मनाङतर्फ गएको छ । घटनामा के–कति क्षति भयो भन्नेबारे यकिन विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ । प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले घटनाबारे थप विवरण संकलन भइरहेको जानकारी दिएका छन् ।

हिमपहिरोमा परेका २२ जना सबै नेपाली नागरिक रहेको खुलेको छ । उनीहरूमध्ये केही सम्पर्कविहीन भएको आशंका गरिएको छ । यसअघि घटनामा विदेशी आरोहीसमेत परेको हुन सक्ने आशंका गरिए पनि हिमपहिरोमा परेका सबै २२ जना नेपाली नागरिक रहेको बताइएको छ ।