पूर्वप्रधानन्यायाधीश जबराको पक्राउ प्रकरण सदनमा उठ्यो

प्रतिनिधिसभाको आजको बैठकमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ र रिहाइको विषयले प्रवेश पाएको छ। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्ने र भोलिपल्टै छाड्ने सरकारी शैलीप्रति कडा आपत्ति जनाउँदै यसलाई केटाकेटी खेलको संज्ञा दिए ।

सिंहदरबारस्थित संसद् भवनमा बोल्दै सांसद राईले प्रधानन्यायाधीश जस्तो गरिमामय पदमा बसेको व्यक्तिलाई पक्राउ गर्नु सामान्य विषय नभएको बताए ।
उनले भने, ‘पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्ने, अनि भोलिपल्टै छोड्ने ? यो पक्राउ हो कि केटाकेटी खेल्ने खेल हो ? सरकारले यस्ता गम्भीर विषयमा नौटङ्की गर्न छोड्नुपर्छ।’

सांसद राईले राज्य संयन्त्रले कुनै पनि व्यक्तिलाई पक्राउ गर्दा त्यसको आधार र गम्भीरता पुष्टि हुनुपर्नेमा जोड दिए । ‘विषय कति गम्भीर हो, त्यसको तथ्यपूर्ण अनुसन्धानपछि मात्रै कानुनी कारबाही अघि बढाउनुपर्छ। पक्रिने र भोलिपल्टै छोड्ने कामले देशको न्याय प्रणाली र सरकारी निकायको विश्वसनीयतामाथि प्रश्न उठाएको छ, उनले भने ।