डीआईजी थपलियाले भने-चोलेन्द्रले सुरक्षा मागेको निवेदन प्राप्त भएको छ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रहरीसँग जिउज्यानको सुरक्षा मागेको बेहोराको एक पत्र सामाजिक सन्जालमा सार्वजनिक भएको छ । यसबारे अनलाइनखबरसँग केही समयअघि कुरा गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी सोमेन्द्र सिंह राठोरले चोलेन्द्र शमशेरको पत्र कार्यालयमा प्राप्त नभएको बताएका थिए ।

तर काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीकै डीआईजी गोविन्द थपलियाले भने पत्र प्राप्त भएको बताए । ‘हिजो बिदाको दिन पत्र प्राप्त भएको हो । बिदा भएकाले केही साथीहरुलाई थाहा नभएको होला । शान्ति सुरक्षाको पत्र प्राप्त भएपछि हामीले सुरक्षाको प्रबन्ध मिलाएका छौं,’ थपलियाले भने ।

चोलेन्द्रको तर्फबाट उनका छोरा सचिन्द्र शमशेर जबराले उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई सम्बोधन गरेको निवेदनमा निवास तथा परिवारका सदस्यको सुरक्षाका लागि आवश्यक व्यवस्था गरिदिन आग्रह गरेको बेहोरा छ ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरामाथि ‘सुरक्षा थ्रेट’को सूचना पाएको भन्दै शनिबार मध्यरात नियन्त्रणमा लिएर आइतबार अपराह्न छाडेको थियो । उनी छुटेकै दिनको मिति अर्थात् हिजो आइतबार शान्ति सुरक्षाको निवेदन प्राप्त भएको प्रहरीको भनाइ छ ।

निवेदनमा पछिल्लो समय देशको अवस्था, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका केही विषयका कारण आफ्नो परिवारको शान्ति सुरक्षामा गम्भीर चुनौती महसुस भएको उल्लेख छ ।