नेपाल बार एशोसिएशनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पर्याप्त आधारबिना मध्यरातमा नियन्त्रणमा लिइएको भन्दै आपत्ति जनाएको छ। बारले सोमबार विज्ञप्ति जारी गर्दै आधार र कारणबिना नागरिकलाई नियन्त्रणमा लिनु संविधान, कानुनी शासन र लोकतान्त्रिक व्यवस्थाविपरीत भएको जनाएको छ ।
घटनाका क्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिलाई समेत भेटघाट गर्न नदिइएको भन्दै बारले यसबाट घटनाको गम्भीरता थप बढेको जनाएको छ।बारले पर्याप्त आधार, कारण र प्रमाणबिना नागरिकलाई पक्राउ गर्नु संविधान र कानुनी शासनविपरीत भएको जनाएको छ।
बारले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र न्यायपालिकाको स्वच्छता तथा स्वतन्त्रता कायम गर्न माग गरेको छ। सेवानिवृत्त प्रधानन्यायाधीश तथा न्यायाधीशले विचाराधीन मुद्दामा हस्तक्षेप गर्न नहुने भन्दै बारले सम्बन्धित सबैलाई कानुनी तथा आचारसंहिताको पालना गर्न आग्रह गरेको छ।


















