संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा सहमति जुटाउने तयारी भइरहेका बेला ह्वाइट हाउसले दुवै देशले कम कर लगाउन सक्ने वस्तुको सूची सार्वजनिक गरेको छ । यद्यपि, कुन वस्तुमा कति कर घटाउने र त्यसको समयतालिका भने सार्वजनिक गरिएको छैन ।
ह्वाइट हाउसले आइतबार सार्वजनिक गरेको विवरणअनुसार अमेरिका र चीनले कर घटाउन सकिने वस्तुको सूची समीक्षा गर्नेछन् र ती वस्तुमा दुवै पक्षले पारस्परिक रूपमा कम कर लगाउने व्यवस्था गर्ने उद्देश्य राखिएको छ । यो व्यवस्थाले दुवै दिशामा करिब ३० अर्ब अमेरिकी डलर बराबरका वस्तुलाई समेट्नेछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार व्यापारलगायत विषयमा छलफल गर्दै शिखर बैठक सम्पन्न गरेको थियो । सीको वासिङ्टन भ्रमणपछि ह्वाइट हाउसले गैरसंवेदनशील वस्तुमा थप अनुकूल कर व्यवस्था गर्न सिफारिस गर्ने विषयमा सहमति भएको घोषणा गरेको थियो । बेइजिङले शनिबार उक्त सम्झौताको पुष्टि गरेको छ ।
अमेरिकाले चीनबाट आयात हुने आतसबाजी, क्रिसमसका सजावटी सामग्री, घरेलु सामान तथा खेलकुद सामग्रीलगायत ७७ वर्गका वस्तुमा कर घटाउन सक्ने सूचीमा उल्लेख छ । त्यसैगरी, चीनले अमेरिकाबाट आयात गर्ने वस्तुको सूचीमा गाईको मासु, सुँगुरको मासु, कुखुराको मासु तथा समुद्री खाना, अन्न, दुग्धजन्य पदार्थ, ह्विस्की, कोइला र काठलगायत एक हजार ६०० भन्दा बढी वर्गका वस्तु समावेश छन् ।
ह्वाइट हाउसका अनुसार चीनले सन् २०२७ र २०२८ मा अमेरिकाबाट कम्तीमा एक करोड मेट्रिक टन कोइला आयात गर्न पनि सहमति जनाएको छ । राष्ट्रपति ट्रम्प र सीले गत वर्ष दक्षिण कोरियामा भएको बैठकमा व्यापार युद्धविरामका लागि सहमति गर्नुभएको थियो । त्यसअघि दुई देशबीचको व्यापार विवादका क्रममा केही वस्तुमा कर १०० प्रतिशतभन्दा बढी पुगेको थियो ।
उक्त व्यापार युद्धविराम सुरुमा नोभेम्बरमा समाप्त हुने तय भए पनि दुवै पक्षले त्यसलाई जनवरी १० सम्म विस्तार गर्न सहमति गरेको अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बताएको छ ।


















