गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै सामाजिक सञ्जालमा अमर्यादित अडियो प्रसारण, एक व्यक्ति पक्राउ

गृहमन्त्रीका सचिवालय सदस्यहरूसँग सम्पर्क रहेको दाबी गर्दै अमर्यादित अडियो संवाद सामाजिक सञ्जालमा प्रसारण गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ बस्ने ३७ वर्षीय आशिष मल्ल भनिने धर्मराज मल्ल पक्राउ परेका हुन्।

गृहमन्त्रीका सचिवालय सदस्यहरूसँग सम्पर्क रहेको भन्दै सामाजिक सञ्जालमा वैयक्तिक प्रतिष्ठा एवं सार्वजनिक मर्यादा विपरीत प्रसारण भएको अडियोबारे वास्तविकता बुझ्ने क्रममा मल्ल फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अडियोको वास्तविकता बुझ्ने क्रममा मल्ल फेला परेका थिए। सोधपुछका क्रममा प्रहरी टोलीलाई गालीगलौज गर्नुका साथै सार्वजनिक स्थानमा अशान्ति सिर्जना गरी अमर्यादित व्यवहार गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो।

मल्लविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दर्ता गरी दुई दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।