प्रधानमन्त्रीको भ्रमणबारे सदनलाई जानकारी नदिएको भन्दै एमालेको आपत्ति

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघको भ्रमणका विषयमा सरकारले सदनलाई जानकारी नगराएको भन्दै प्रश्न उठाइएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा एमाले सांसद टुकाभद्रा हमालले प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा संसद्लाई जानकारी दिने स्थापित संसदीय परम्पराको सरकारले पालना नगरेको भन्दै आपत्ति जनाएकी हुन् ।

उनले भनिन्, ‘प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सदनलाई जानकारी दिने परम्परा छ, तर उहाँले भ्रमणमा जाने बेलामा पनि सदनलाई जानकारी दिनुभएन।’
त्यति मात्र नभएर, प्रधानमन्त्री स्वदेश फर्किसकेपछि पनि भ्रमणका क्रममा भएका भेटवार्ता र त्यहाँ राखिएका धारणाबारे सदनलाई कुनै जानकारी नगराइएकोमा पनि उनले असन्तुष्टि व्यक्त गरिन् ।