कसैलाई आशीर्वाद दिँदा हामी भन्ने गर्छौँः कुवेरको ढुकुटी प्राप्त होस् । को हुन् कुवेर ? कुवेर खासमा देवलोकका वित्त मन्त्री हुन्, सुन जुहारत, मणि, माणिक्य, सम्पूर्ण खानी, अभ्रक, सिसा लगायत सबैधातुका मालिक हुन् । लक्ष्मी पूजा गर्दा कुवेरको पूजा अनिवार्य नै छ । यिनलाई शिवजीले स्वर्णलंका दिएका थिए, यिनी पूर्णरुपेण शिव भक्त हुन् । अघिल्लो जन्ममा यिनी कलिँग देशका राजा थिए । कलिँग देशका सम्राट अरिन्दमका छोरा दम भई जन्मेर सानै उमेरमा राजा भएपछि यिनले सर्वत्र शिवपूजनको वर्षा गराए, शिवालयहरु धेरै बनाए, आम प्रजाजनमा शिवभक्ति छायो, ठाउँ ठाउँमा मन्दिरहरु बने, घरघरमा शिव अनुष्ठान भयो, नित्य शिवालयमा रुद्राभिषेक हुन थाल्यो । शिवप्रीति यति धेरै भयो कि सम्पूर्ण देशबासी नै शिवमय भए । नेतृत्व धार्मिक हुँदा स्वतः अरु पनि धार्मिक नै हुन्छन्, सच्चरित्रताको व्यापक विकास भयो, नीति, नैतिकता, इमान्दारिताको ठूलो जग बस्यो कलिँग देश र त्यसका आसपास सबैतिर यसको प्रभाव बढ्दै गयो ।
ब्रह्माका कुलमा मानसपुत्र पुलह, पुलस्त्यहरु भए, उनका कुलमा विश्रवा भए, विश्रवाका वैश्रवण पुत्र भए, तिनले शिवको विशेष उपासना गरे । वाराणसीमा विश्वनाथ बाबाको खूव सेवा गरे, शिवप्रीतिका लागि यिनले कठोर व्रत गरे । शरीर जीर्ण हुन्जेल तप गरे, युगादि समयानुसार दसौँ हजार वर्षसम्म यिनले प्राणवायुलाई खिचेर तप गरिरहे, केवल वायुमा रहेको अक्सिजन मात्रले प्राण रक्षा गरेर । सबैतिर हल्लिखल्ली भयो । उनको तपको प्रभावले ब्रह्माण्डमै खैलाबैला हुन थाल्यो । शिवलोकबाट पार्वती सहित शिवजीले मत्र्यलोकमा आएर यिनलाई दर्शन दिँदा यिनका आँखा तिरिमिरी भए, पूर्ण दृष्टि भएन, देवताको दर्शन राम्ररी गर्न सकेनन् । बाह्र सूर्यको तेजभैmँ चम्किला भोलेबाबाको दर्शन गर्न नसक्दा शिवजीले सौम्य भएर आशीर्वाद दिएपछि उनले मधुर रुपमा हेर्न सक्ने भए । तर पहिले उनको नजर आमा पार्वतीप्रति गयो, एक नासले हेरिरहे, विश्वसुन्दरी थिइन् उनी । उनले शिवजीलाई सोधे, नजिककी रुपवती को हुन् ?
एकोहोरो आपूmप्रति आँखा लगाइएका यिनीबाट पार्वती रिसाउनु भयो र तत्काल श्राप गर्नुभयोः तेरो एक आँखा फुटिहालोस् । माता पार्वतीको वचन खेर गएन, उनको बायाँ आँखा फुट्यो, दृष्टि गयो, तैपनि दायाँ आँखाले हेरिरहे पार्वतीप्रति । शिव डराएर पार्वतीलाई भन्न लाग्नु भयो, यिनी तिम्रा पुत्र हुन् नरिसाऊ, यी मेरा असल भक्त हुन् । शिजजीको आदेशले पार्वती स्तव्ध भइन्, माया दिन थालिन् र संगै अलकापुरीको मालिक बन्ने प्रेरणा र आशीर्वाद मिल्यो । शिवालय र अलकापुरी संगै रहने भयो र शिवजीले पूर्णत स्वर्ण आदि धातुका मालिक बनाइदिनुभयो, देवताहरुको राज्य डुकुटीको सन्चालक भए, किन्तु बानी व्यहोरा अलिक राम्रो नहुँदा उनको नाम कुबेर रह्यो । सामान्यतया कु भनेको खराव र बेर भनेको व्यवहार भन्ने अर्थमा ।
कुवेर पहिले यज्ञदत्तका पुत्र थिए, नाम थियो गुणनिधि । पिता कर्मकाण्डी ब्राह्मण थिए, वेदज्ञ थिए, स्वयं अग्नि प्रकट गराउँथे, आचरण शुद्ध थियो, नैष्ठिक थिए, राजप्रासादको सेवा पनि गर्थे, राजाका कुल गुरु पनि थिए, सर्वत्र नाम चलेको थियो उनको । धर्म शास्त्रका ज्ञाता, उपकारी, दानी, सर्वज्ञ, देव पितृहरुका उपासक, नित्य नैमित्तक कर्मका अनुयायी, दैवज्ञ, ठूला ज्योतिष शास्त्रका ज्ञाता थिए । नाम नै यज्ञदत्त भएकाले हरेक दिन उनका सबै कर्महरु यज्ञ समान हुन्थे, देवताका पूर्ण उपासक थिए, खोट केही थिएन । वेदान्ती ती ब्राह्मणकी पत्नी थिइन् दीक्षितायनी, पत्नीमाथि ठूलो भरोसा थियो उनको ।
ब्राह्मण कुलमा छोरोको उपनयन संस्कार ८ वर्षमै हुनु पर्ने मान्यता अनुकूल छोरा गुणनिधिको ब्रतबन्ध ८ वर्षमै गरिदिए उनले । शुरुमा राम्रो चरित्र देखिए पनि छारोको चरित्र बिग्रेर जान थाल्यो, आमाबाट लाड प्यार धेरै पायो उसले । शास्त्रको कथन छ लालने बहवो दोषाः ताडने बहवो गुणाः । तस्मात् पुत्रं च शिष्यं च ताडयेत् न तु लालयेत् । ज्यादा प्यार गर्दा सन्तान बिग्रन्छन, उमेर अनुसार ताडना राम्रो हुन्छ, अतः पुत्र बा शिष्यलाई १६ वर्षसम्म ताडना गर्नुपर्छ, ५ वर्षसम्म बढी प्यार गर्नुपर्छ । ६ देखि १६ वर्षसम्म बढी प्यार गर्ने बाबु आमा शत्रु हुन् भनेको छ शास्त्रले । भयो त्यही, आमाले बढी प्यार गरिन्, घरमा नियन्त्रण भएन । छोरोले चोरी गर्न थाल्यो, आमाले नदेखेभैmँ गरिन्, धेरै सामान हराए, घरका बाबुले सोधेमा छोरो पूजामा छ, न्यासमा छ, व्रतमा छ, तीर्थमा छ भन्थिन्, सबैकुरो ढाकछोप गरिन् । हरबेला हेर्न भ्याउँदैनथे उनले । पत्नीले ढाँट्दै गइन् । तर छोरो मदिरामा, दूव्र्यसनमा, फेसनमा, बेश्यामा, जुवाडेको संगतमा परिसकेको रहेछ । घरका बहुमूल्य सरसामग्री बाहिर जुवाडेकोमा पुगिसकेको रहेछ । केही शँकालु व्यवहार देखेर बाबुले इज्जत अनुसार छोरो सप्रियोस् भनेर १६ वर्षमा बिहे पनि गरि दिएछन् तर छोरो सप्रेनछ, १९ वर्ष उमेरमा त धेरै सरसामग्री घरबाट हराइसकेको रहेछ ।
एक दिन, एक जुवाडेसंगको भेटमा आप्mनै स्वर्ण औँठी देखेछन् बाबु यज्ञदत्तले, जुवाडेलाई झपारेछन् उनले । जुवाडेले खरो उत्तर दिएछ, यो मात्रै होइन अरु धेरै सामग्री तिम्रा हराएका होलान्, तिम्रा छोराले मेरी पत्नीको साडी जितेर लगेको छ हिजो मात्रै, आज मैले तिमे छोराबाट यो औँठीै जितेका हो, आप्mनै छोरोलाई भन्नू नि बरु । यस्ता कुरा छरछिमेक, समाज सबैतिर सुन्दै आएका यज्ञदत्तले घरमा आएर पत्नीलाई सोधेछन्, मेरो औठी हराएको कति दिन भयो खोइ खोजी गर न । श्रमितीले भनिछन् म अहिले पाहुनाका लागि खाना तयार गर्दैछु, कता राखैँ मैले भुलेँ, फुर्सदमा खोज्छु । हरेक दिन प्रश्न गर्दा पत्नीले यस्तै जवाफ दिने गरेकी थिइन्, कहिले म पूजामा छु भन्थिन्, कहिले के के । बाबु रन्किए, कडा स्वरमा बोल्न लागेको देखेर आमाले छोरोलाई सम्झाउन लागिन् बाबुको ठूलो इज्जत छ, राजाले थाहा पाए भने नोकरी पनि जान्छ, चरित्र बिग्रिएपछि असहज हुन्छ बाबु यस्तो काम तिमीले अब नगर । तर छोरो अटेरी थियो, मानेन चरित्र भत्काइसकेकोले ऊ सुध्रिएन । परिबारमा बिछोड भयो, छरपष्ट भयो, छोरो देशान्तर हिँड्यो, दुःख पायो । बास, गाँसको समस्या हुँदा आपैmँ मन पनि बुझउँथ्यो धन आर्जन गरेर पनि के हुन्छ र सरकार, राज्यको आँखा लाग्छ ।
परदेशिएको गुणनिधिलाई पश्चाताप हुन लाग्यो, विहानै भोक लाग्थ्यो, उसले सम्झन्थ्यो आपूm ओछ्यानमै हुँदा आमाले पूजाको काम सकेर गाईको तातो दूध आपूmलाई पिलाएको धेरै पछिसम्म । अब भोक तिर्खा, आकुलता, व्याकुलताले ऊ जीर्ण हुँदै गयो । एक दिन बेलुकी बाटोमा एक साधु देख्यो उसले, निधारमा चन्दन, हातमा पूजासामग्री, पलपूmल नैवेद्यहरु धेरै, जलरी, पन्चामृत लिएर साधु मन्दिर जाँदैरहेछन् । खानेकुरा हातमा देखेर ऊ पछि पछि लाग्यो । साधु शिवालय जाँदेरहेछन्, मन्दिरमा त्रिप्रहर शिर्वार्चन हुँदैरहेछ, ढोक्रामा बसेर गुणनिधिले शिवजीको महापूजा हेरिरह्यो, धेरै समय वित्यो, पूजा सकियो, धेरै नैवेद्यहरु मन्दिरमा रहेछ, भोकले सताइएको उसले तीलको तेलले बलेको शिवालयलाई नैवेद्यकै लोभले मधुर बत्तीको साटो आप्mनो कपडाको छेउ बाल्यो, बढी उज्यालो भयो, भएभरका नैवेद्य खायो, सकेको बोकेर हिँडदा पैतालाको चाल बिग्रिँदा सुरक्षाकर्मीहरु ब्यूँझिए, चार चोर भन्दै लखेट्न थाले ठूलो स्वरले कराउँदा वरिपरिकाहरु उठे चोरलाई लखेटे, ढुँगा प्रहार गरे, गुणनिधिको तालु फुट्यो, तत्कालै मृत्यु भयो । खबर शिवालयमा पुग्यो, मन्दिरमा बत्ती झल्मलाएर बालेको शिवमन्दिरमा रात्रि जाग्राम बसेको, शिव प्रसाद ग्रहण गरेको सबै अभिलेख शिवालयमा पुग्दा शिवालयबाट शिवगणहरु आए उसलाई कैलाशमा लग्न, परन्तु उसको सवै अभिलेख हेरेर यमालयबाट यमदूतहरु आए लिनलाई । दुवै गणका बीच तानातान भयो, अन्त्यमा शिव गणले तर्क सहित गुणनिधिलाई कैलाशमा लगे । यो असह्य भएर यमालयमा पुगी यमगणहरुले यमराज सामु विरोध गर्दा यस्ता तपस्वीहरुलाई मेरो लोकमा कहिल्यै नल्याउनू, शिवप्रीतिगर्नेहरु सोभैm मुक्ति पाउँछन्, वैष्णव, तिलकधारी, रुद्राक्षधारी शिवको प्यारो हुन्छ, ऊ पापी भए पनि खराव चरित्रको भए पनि उसका तमाम दोषहरु हटिसकेका छन्, शिवगणले कैलाश लगे, राम्रो गरे तिमीहरु सचेत हुनू ।
गुणनिधि लामो समय शिव गणमा संलग्न भए र अन्त्यमा कलिँग देशका राजा अरविन्दका छोरा राजकुमार भइ जन्मे ।
अँगुलीमाल शुरुमा नरमुण्डमालाधारी थियो, बुद्धलाई मार्न आएको बुद्धत्व पप्त गर्न सफल भयो, परिस्कृत भयो । बाल्मीकि पहिले रत्नाकर डाँकु थिए, पछि आदि संस्कृतका महाकाव्यकार भए । अतः सुध्रिने समय पाएपछि जो कोही पनि सुध्रन सक्छ, केवल प्रेरणाको आबश्यकता पर्छ । शिव महापुराण सृष्टि खण्ड रुद्रसंहिता अध्याय १७, १८ मा यी विषयहरु विस्तृत रुपमा समावेश छन्, यी कथाहरु स्वयं ब्रह्माजीले मानसपुत्र नारदलाई बताउनु भएको हो ।





















