पेरिससहित विभिन्न सहरमा झडप, आगजनी र लुटपाट; १५० प्रहरी घाइते, ऐतिहासिक टाउन हलमा समेत क्षति
पेरिस। बढ्दो महँगी, सार्वजनिक शिक्षाको कमजोर अवस्था र सरकारप्रतिको असन्तुष्टिलाई लिएर फ्रान्समा भएका प्रदर्शन हिंसात्मक बनेका छन्। शनिबार राजधानी पेरिससहित देशका विभिन्न सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनी भएको फ्रान्स २४ ले जनाएको छ।
फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुका अनुसार प्रदर्शनका क्रममा देशभर १ हजार २०० जना पक्राउ परेका छन् भने १५० जना प्रहरी घाइते भएका छन्। गृहमन्त्री लरेन्ट नुनेजले प्रदर्शनमा ५ लाख ५० हजारभन्दा बढी मानिस सहभागी भएको बताएका छन्। राजधानी पेरिसमा मात्रै करिब १ लाख १० हजार मानिस सडकमा उत्रिएका थिए। यद्यपि, ट्रेड युनियन सीजीटीले देशभर पाँच लाख मानिस सहभागी भएको जनाएको छ।
प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो। नकाब लगाएका केही प्रदर्शनकारीले प्रहरीमाथि वस्तु प्रहार गर्नुका साथै पटाका र आतसबाजी प्रयोग गरेका थिए। पेरिसमा सडक किनारमा पार्क गरिएका कैयौँ गाडीमा आगजनी भएको थियो।
दक्षिणी सहर सेन्ट-एटिएनमा भीड नियन्त्रणका लागि प्रहरीले प्रयोग गर्ने ग्रिनेड विस्फोट हुँदा १७ वर्षीय प्रदर्शनकारीको हात गम्भीर रूपमा क्षतिग्रस्त भएको फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन्। घटनाबारे अनुसन्धान गर्न सरकारी प्रहरी निरीक्षण निकाय आईजीपीएनलाई निर्देशन दिइएको स्थानीय अभियोजन कार्यालयले जनाएको छ। गृहमन्त्री नुनेजले चोट प्रहरीको ग्रिनेडबाट लागेको हुन सक्ने बताए पनि त्यसको पुष्टि भइनसकेको बताएका छन्।
यसअघि अक्टोबर ५ मा लेन्स सहरमा भएको प्रदर्शनका क्रममा पनि प्रहरीको स्टन ग्रिनेड विस्फोट हुँदा १५ वर्षीय किशोरको हातमा गम्भीर चोट लागेको थियो।
१४३ वर्ष पुरानो टाउन हलमा आगजनी
प्रदर्शनका क्रममा लिमोज सहरको १४३ वर्ष पुरानो टाउन हलमा आगजनी हुँदा भवनको ठूलो हिस्सा क्षतिग्रस्त भएको छ। स्थानीय अधिकारी मौरिस बारातका अनुसार भवनको छत तल्लो तलामा खसेको छ भने बाहिरी भागको करिब दुईतिहाइ नष्ट भएको छ।
प्रत्यक्षदर्शीका अनुसार नकाब लगाएका प्रदर्शनकारीले नगर भवनबाहिर प्रहरीको गाडीमा आगजनी गरेपछि भवनका झ्याल फुटाएर भित्र प्रवेश गरी आगो लगाएका थिए। अधिकारीहरूले घटनालाई ऐतिहासिक सम्पदामाथिको ठूलो क्षति भनेका छन्।
त्यस्तै, लियोँ सहरको केन्द्रमा रहेको पर्यटक सूचना केन्द्रमा आगजनी भएको छ। मार्से र लिल सहरका नगरपालिकाका भवनमा प्रवेश गरेका प्रदर्शनकारीले तोडफोड गरेका छन्। समाचार संस्था एएफपीका अनुसार मार्सेमा हर्मेसको बुटिक, लिलमा एप्पलको पसल तथा निस र पेरिसका विभिन्न व्यापारिक प्रतिष्ठानमा समेत लुटपाट भएको छ।
पेरिसका मेयर इमानुएल ग्रेगोयरले अधिकांश प्रदर्शनकारी शान्तिपूर्ण रूपमा आन्दोलन गर्न चाहेको बताएका छन्। तर, तोडफोड र हिंसाका घटनाले आन्दोलनलाई बदनाम गरेको उनको भनाइ छ।
पेरिसको पूर्वी र उत्तरी क्षेत्रमा भएको प्रदर्शनमा सहभागी हजारौँ मानिसले राष्ट्रपति इमानुएल म्याक्रोंको राजीनामा माग्दै नाराबाजी गरेका थिए। प्रदर्शनमा सहभागी १९ वर्षीय लुइसले प्रहरीले अत्यधिक बल प्रयोग गर्ने गरेको आरोप लगाएका छन्। प्रहरीको व्यवहारका कारण प्रदर्शनमा सहभागी हुनसमेत डर लाग्ने अवस्था आएको उनको भनाइ थियो।
प्रदर्शनका क्रममा किशोरहरू घाइते हुनु र ठूलो सङ्ख्यामा मानिस पक्राउ पर्नुले प्रदर्शनकारी तथा प्रहरीबीचको तनाव थप बढाएको बताइएको छ।
राष्ट्रपतीय निर्वाचनअघि सरकारमाथि दबाब
बढ्दो महँगी र सार्वजनिक सेवासम्बन्धी असन्तुष्टिका कारण फ्रान्समा जारी प्रदर्शनले राष्ट्रपति म्याक्रों र उनको सरकारमाथि राजनीतिक दबाब बढाएको छ। राष्ट्रपतीय निर्वाचनको तयारी भइरहेका बेला देशव्यापी अशान्तिले सरकारका लागि थप चुनौती सिर्जना गरेको छ।
आठ वर्षअघि इन्धनमा कर बढाउने सरकारी योजनाको विरोधमा भएको ‘येलो भेस्ट’ आन्दोलनसँग सम्बन्धित समूहले यसपटक विद्यार्थीहरूको आन्दोलनलाई समर्थन गर्दै ‘येलो एन्ड युथ’ प्रदर्शनको आह्वान गरेको थियो।
विद्यार्थी आन्दोलन, प्रहरीको बल प्रयोगसम्बन्धी विवाद र सार्वजनिक सम्पत्तिमाथिको आक्रमणले फ्रान्सको राजनीतिक तथा सुरक्षा अवस्थालाई थप जटिल बनाएको छ। सरकारले प्रदर्शन नियन्त्रण र सार्वजनिक सुरक्षा कायम गर्ने चुनौती सामना गरिरहेको छ।















