काठमाडौं, २ कात्तिक। युरोपका छ देश फ्रान्स, इटाली, स्पेन, ग्रिस, बेल्जियम र अल्बानियामा बढ्दो शैक्षिक खर्च, बेरोजगारी, महँगो आवास र कमजोर शैक्षिक पूर्वाधारको विरोधमा प्रदर्शन चर्किएको छ। विद्यार्थीहरूको नेतृत्वमा सुरु भएका आन्दोलनमा विभिन्न श्रमिक सङ्गठन र सर्वसाधारणसमेत सहभागी भएका छन्।
प्रदर्शनका क्रममा केही स्थानमा तोडफोड, आगजनी र प्रहरीसँग झडप भएका छन्। विभिन्न देशमा प्रदर्शनकारीहरू पक्राउ परेका छन् भने सुरक्षाकर्मीसहित केही व्यक्ति घाइते भएका छन्।
फ्रान्समा व्यापक प्रदर्शन, १ हजार ८ सय पक्राउ
फ्रान्समा विद्यालयको जीर्ण अवस्था, शिक्षक अभाव र बढ्दो महँगीको विरोधमा १४० सहरमा प्रदर्शन भएको समाचारमा उल्लेख छ। प्रदर्शनमा करिब आठ लाख मानिस सहभागी भएको दाबी गरिएको छ।
पेरिस, मार्सेई र बोर्डोसहित विभिन्न सहरमा तोडफोड र लुटपाटका घटना भएका छन्। लिमोजमा ऐतिहासिक सिटी हलमा आगजनी भएको र कैयौँ सवारीसाधन जलाइएको जनाइएको छ। अक्टोबर १८ सम्म करिब १ हजार ८ सय जना पक्राउ परेको समाचारमा उल्लेख छ।
इटालीमा विद्यालय कब्जा, राष्ट्रव्यापी हड्ताल घोषणा
इटालीमा विद्यार्थीहरूले सरकारी लगानीको कमी, विद्यालयको जीर्ण अवस्था र बढ्दो शैक्षिक खर्चविरुद्ध आन्दोलन गरिरहेका छन्। रोम र ट्युरिनसहित विभिन्न सहरमा विद्यार्थीहरूले विद्यालय कब्जा गरेका छन्।
विद्यार्थी सङ्गठनहरूले शिक्षा क्षेत्रमा सरकारी लगानी बढाउन, विद्यालयको भौतिक अवस्था सुधार गर्न र सस्तो छात्रावासको व्यवस्था गर्न माग गरेका छन्। उनीहरूले अक्टोबर ३० मा राष्ट्रव्यापी हड्ताल गर्ने घोषणा गरेका छन्।
स्पेनमा महँगो घरभाडाविरुद्ध आन्दोलन
स्पेनमा बढ्दो घरभाडा र आवास अभावविरुद्ध प्रदर्शन भइरहेको छ। राजधानी म्याड्रिडको सोल चोकमा प्रदर्शनकारीहरूले टेन्ट राखेर विरोध जनाएका छन्।
प्रदर्शनकारीहरूले घरभाडामा नियन्त्रण, भाडा तिर्न नसक्नेहरूलाई घरबाट निकाल्ने कार्य रोक्न र सस्तो सरकारी आवास निर्माण गर्न माग गरेका छन्। सरकारले आवास सङ्कट समाधानका लागि कदम चाल्ने बताए पनि प्रस्तावित उपायहरूमा राजनीतिक सहमति जुट्न सकेको छैन।
ग्रिसमा संसद्अगाडि धर्ना
ग्रिसको राजधानी एथेन्समा विद्यार्थीहरूले छात्रावासको अभाव, महँगो भाडा र अध्ययन खर्च वृद्धिको विरोधमा संसद् भवनअगाडि टेन्ट राखेर धर्ना दिएका छन्।
विद्यार्थी सङ्गठनका अनुसार देशका अधिकांश विद्यार्थीले छात्रावास सुविधा पाउन सकेका छैनन्। पछिल्लो दशकमा कोठाभाडा उल्लेख्य रूपमा बढेको भन्दै प्रदर्शनकारीहरूले भाडा नियन्त्रण, सरकारी छात्रावास निर्माण, छात्रवृत्ति वृद्धि र विश्वविद्यालयको बजेट बढाउन माग गरेका छन्।
बेल्जियममा शिक्षा बजेट कटौतीको विरोध
बेल्जियमको राजधानी ब्रसेल्समा शिक्षा बजेट कटौती र शैक्षिक सुधारका प्रस्तावविरुद्ध विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा केही स्थानमा तोडफोड र प्रहरीमाथि वस्तु प्रहार भएको जनाइएको छ।
प्रहरीले प्रदर्शन नियन्त्रण गर्न अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको थियो। अक्टोबर १८ सम्मको विवरणअनुसार १५० जना पक्राउ परेका छन् भने पाँच प्रहरी सामान्य घाइते भएका छन्।
अल्बानियामा प्रधानमन्त्रीको राजीनामा माग
अल्बानियाको राजधानी तिरानामा विद्यार्थी र युवाहरूले महँगो शिक्षा, बेरोजगारी, भ्रष्टाचार तथा विश्वविद्यालयहरूको कमजोर अवस्थाविरुद्ध प्रदर्शन गरेका छन्।
अक्टोबर १५ मा हजारौँ युवा शिक्षा मन्त्रालयबाहिर भेला भएर प्रधानमन्त्री एडी रामाको राजीनामा माग गरेका थिए। प्रदर्शनका क्रममा ढुङ्गामुढा, आगजनी र प्रहरीसँग झडपका घटना भएका छन्। आन्दोलनका क्रममा १६७ जना पक्राउ परेको समाचारमा उल्लेख छ।
प्रधानमन्त्री रामाले राजीनामा दिन अस्वीकार गर्दै विद्यार्थीहरूसँग वार्ताको प्रस्ताव गरेका छन्। उनले तोडफोडमा संलग्न व्यक्तिमाथि कारबाही गरिने बताएका छन्।
साझा समस्या : शिक्षा, रोजगारी र आवास
छ देशमा भइरहेका प्रदर्शनका माग फरक–फरक भए पनि शिक्षा क्षेत्रमा पर्याप्त सरकारी लगानी, रोजगारीका अवसर, सस्तो आवास र जीवनयापनको बढ्दो लागत मुख्य मुद्दाका रूपमा देखिएका छन्।
विद्यार्थी आन्दोलनमा अन्य नागरिक र श्रमिक सङ्गठनसमेत सहभागी हुन थालेपछि केही देशमा आन्दोलनको दायरा फराकिलो बनेको छ। यद्यपि, प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनाले आन्दोलन नियन्त्रण र सार्वजनिक सुरक्षासम्बन्धी चुनौतीसमेत बढाएका छन्।
(एजेन्सीहरूको सहयोगमा)


















