काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएपछि निर्णयको विरोध सुरु भएको छ। लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष अक्रम खानले नियुक्ति खारेज गर्न सरकारसँग माग गरेका छन्।
खानले सरकारले निर्णय फिर्ता नलिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्। उनका अनुसार लुम्बिनीको विकास, संरक्षण र प्रवर्द्धनका लागि स्थानीय भावना बुझेको, स्वच्छ छवि भएको र पारदर्शी व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्छ।
उनले आनी छोइङ डोल्माको नागरिकता र विदेशबाट आएको रकमको स्रोतबारे उठेका प्रश्नहरूको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। सन् २०१९ मा हङकङबाट १६ लाख ४९ हजार ९४० अमेरिकी डलर नेपाल आएको विषयमा स्पष्ट पार्नुपर्ने उनको भनाइ छ। उक्त रकमको सम्बन्धमा विगतमा बैंक खाता रोक्का गरी अनुसन्धान अघि बढाइएको दाबीसमेत उनले गरेका छन्।
खानले लुम्बिनी क्षेत्रमा पुरातात्त्विक सम्पदाको संरक्षणमा लापरबाही भएको आरोप पनि लगाएका छन्। प्राचीन इँटा बिक्री भएको, पीपलको रूख काटिएको, मन्दिरको मौलिक स्वरूप परिवर्तन गरिएको तथा जीवित सम्पदा क्षेत्रमा शुल्क उठाइएको विषयमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने उनको माग छ।
उनले बुद्धको नाममा राजनीति र आर्थिक लाभ लिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउँदै लुम्बिनीको ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक महत्त्व संरक्षण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन्।
खानका अनुसार उपाध्यक्ष पदका लागि करिब ६०० जनाले आवेदन दिएको अवस्थामा विवादरहित व्यक्तिलाई छनोट गर्न सकिने विकल्प हुँदाहुँदै नियुक्ति गरिएको विषयमा पनि प्रश्न उठेको छ।
सरकारले माग सम्बोधन नगरे आन्दोलनलाई निरन्तरता दिने उनले चेतावनी दिएका छन्।
यसैबीच, मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो।


















