आनी छोइङको नियुक्ति विवाद :मन्त्रीको फोटो जलाएपछि मध्यराति पक्राउ परे अक्रम खान

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिको विरोध गर्दै आएका लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्रम खानलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले खानलाई सोमबार राति आफ्नै घरमा सुतिरहेको अवस्थामा पक्राउ गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल गनेश को तस्बिरमा आगो लगाएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सरकारले आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेपछि महाअभियानले निरन्तर विरोधका कार्यक्रम गर्दै आएको थियो। उक्त नियुक्तिलाई लिएर विवाद चर्किरहेका बेला अभियानका संयोजक खान पक्राउ परेका हुन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले गायिका तथा बौद्ध भिक्षु आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो।सरकारको उक्त निर्णयलाई लिएर विभिन्न पक्षबाट विरोध हुँदै आएको छ।