शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भेटवार्ता भएको छ। मन्त्री पोखरेलको सचिवालयका अनुसार भेटमा उच्च शिक्षामा सहकार्य विस्तार तथा साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीका विषयमा छलफल भएको थियो।
भेटमा मन्त्री पोखरेलले विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) उपलब्ध गराउने र विदेशबाट प्राप्त शैक्षिक उपाधिको नेपालमा समकक्षता निर्धारण गर्ने प्रक्रिया सहज बनाउन मन्त्रालयले काम गरिरहेको जानकारी गराएका थिए।
उनले यसअघि त्रिभुवन विश्वविद्यालयबाट हुँदै आएको शैक्षिक उपाधिको समकक्षता निर्धारणसम्बन्धी काम अहिले विश्वविद्यालय अनुदान आयोगमार्फत भइरहेको जानकारी दिँदै प्रक्रियामा आवश्यक नीतिगत सुधारसमेत भइरहेको बताएका थिए।


















