अर्णव चक्रवातको नेपालमा प्रभाव : आतङ्कित हुनुपर्ने अवस्था नभए पनि पूर्वसावधानी अपनाउनुपर्ने

बङ्गालको खाडीमा विकसित भइरहेको अर्णव चक्रवातको अवशेष नेपालतर्फ अघि बढ्ने सम्भावनासँगै देशका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम देखिएको छ। नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार उक्त प्रणालीले पर्याप्त जलवाष्प बोकेर ल्याउने र माथिल्लो वायुमण्डलको प्रणालीसँग मिसिने भएकाले नेपालमा वर्षा गराउने अवस्था सिर्जना भएको हो।

प्रारम्भिक पूर्वानुमानअनुसार बिहीवार बेलुकादेखि शनिवारसम्म यस प्रणालीको प्रभाव रहनेछ। यद्यपि, प्रणाली बङ्गालको खाडीमै रहेकाले यसको गति, तीव्रता र नेपाल प्रवेश गर्दाको अवस्थाअनुसार वर्षाको मात्रामा परिवर्तन हुन सक्नेछ। वर्षाको सम्भावना देखिए पनि आतङ्कित हुनुपर्ने अवस्था नरहेको र जोखिमयुक्त क्षेत्रमा भने पूर्वसावधानी अपनाउनुपर्ने मौसमविद्ले स्पष्ट पारेका छन्।

वरिष्ठ मौसमविद् विभूति पोखरेलले भनिन्, ‘नेपाल नजिक आइपुग्दासम्म यो न्यून चापीय क्षेत्र कमजोर हुन सक्छ। धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र थोरै स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम हुने भएकाले त्यहाँ रहेका पर्यटकले सुरक्षित स्थानमा बस्नुपर्छ र माथिल्लो क्षेत्रतर्फ यात्रा गर्नु हुँदैन।’

वर्षाका कारण पहिरो जाने सम्भावना भएका सडक तथा क्षेत्रमा यात्रा गर्दा सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। साथै, अहिले धान काट्ने समय भएकाले कृषि क्षेत्रमा असर पर्न सक्ने भन्दै विभागले जारी गर्ने मौसमसम्बन्धी अद्यावधिक सूचना हेरेर मात्र धान काट्न किसानहरूलाई सुझाव दिइएको छ।

अक्टोबर र नोभेम्बर महिनामा बङ्गालको खाडी तथा अरब सागरमा चक्रवात विकसित हुने भएकाले मनसुन सकिएपछि पनि वर्षा हुनु सामान्य प्रक्रिया रहेको मौसमविद्को भनाइ छ। जलवायु परिवर्तनले यस्ता मौसमी घटनाको आवृत्ति र तीव्रतामा प्रभाव पार्ने भएकाले विभागको आधिकारिक सूचना र पूर्वानुमानका आधारमा मात्र आफ्ना गतिविधि तय गर्न सबैमा आग्रह गरिएको छ।