लुम्बिनीमा दोस्रो अन्तरराष्ट्रिय बुद्धवचन पाठ सुरु

लुम्बिनीमा दोस्रो अन्तरराष्ट्रिय बुद्धवचन पाठ कार्यक्रम आइतबारदेखि सुरु भएको छ । प्रसिद्ध बौद्ध धर्मगुरु छोकी निमा रिन्पोछेको नेतृत्वमा आयोजित सातदिने कार्यक्रममा विभिन्न देशका बौद्ध भिक्षु, भिक्षुणी, विद्वान् तथा साधक सहभागी छन् । लुम्बिनीस्थित पाल थुब्तेन शेद्रुब लिङ अर्थात् ‘थाउजेन्ड गोल्डेन बुद्ध टेम्पल’मा आयोजना गरिएको कार्यक्रममा पाली, संस्कृत, तिब्बती, चिनियाँ, भियतनामी र अङ्ग्रेजीलगायत विभिन्न भाषामा बुद्धका उपदेश सामूहिक रूपमा वाचन गरिनेछ ।

बौद्ध परम्परा र सम्प्रदायका अनुयायीलाई एउटै आध्यात्मिक अभ्यासमा जोड्दै बुद्धका शिक्षाको संरक्षण, अध्ययन र विश्वव्यापी प्रसार गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले बताएको छ । कार्यक्रममा विश्वशान्ति, करुणा र सम्पूर्ण प्राणीको कल्याणका लागि सामूहिक प्रार्थना गरिनुका साथै तिब्बती बौद्ध धर्मपरम्पराको महत्त्वपूर्ण ग्रन्थ ‘काङ्ग्युर’मा सङ्ग्रहित बुद्धवचनको वाचन समेत गरने भएको छ । काङ्ग्युर तिब्बती बौद्ध परम्परामा बुद्धका उपदेशको प्रमुख सङ्ग्रह हो । यसमा सूत्र तथा तन्त्रसम्बन्धी विभिन्न ग्रन्थ समावेश छन् ।

त्यसैगरी, अङ्ग्रेजी भाषामा बुद्धवचन वाचनका लागि अन्तरराष्ट्रिय गैरनाफामूलक संस्था ‘८४००० : ट्रान्सलेटिङ द वड्र्स अफ द बुद्ध’ले अनुवाद गरेका ग्रन्थ प्रयोग गरिने आयोजकले बताएको छ । उक्त संस्थाले तिब्बती बौद्ध ग्रन्थलाई आधुनिक अङ्ग्रेजी भाषामा अनुवाद गरी विश्वभरका पाठकका लागि उपलब्ध गराउँदै आएको छ । तिब्बती बौद्ध परम्पराको महत्त्पूर्ण पर्व ‘ल्हाबाब दुछेन’ को अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो ।

बौद्ध मान्यताअनुसार बुद्धले देवताको लोकमा आफ्नी माता तथा देवगणलाई धर्मोपदेश दिएपछि पुन: पृथ्वीमा अवतरण गर्नुभएको घटनाको स्मरणमा यो पर्व मनाइन्छ । तिब्बती बौद्ध पात्रोअनुसार नवौँ महिनाको २२ औँ दिनमा पर्ने ल्हाबाब दुछेनलाई बौद्ध धर्मका चार प्रमुख पवित्र पर्वमध्ये एक मानिन्छ ।

उक्त अवसरमा बुद्धवचन पाठ, ध्यान, प्रार्थना, दान तथा अन्य पुण्यकर्मलाई विशेष महत्त्व दिने गरिन्छ । बुद्धको जन्मस्थल लुम्बिनीमा विभिन्न देश र बौद्ध परम्पराका अनुयायी एकै स्थानमा भेला भई बुद्धका शिक्षाको सामूहिक वाचन तथा साधना गर्नाले लुम्बिनीको अन्तरराष्ट्रिय धार्मिक र आध्यात्मिक महत्त्व थप उजागर हुने अपेक्षा गरिएको छ ।

सात दिनसम्म सञ्चालन हुने कार्यक्रमले बुद्धका शान्ति, करुणा, मैत्री र अहिंसाका सन्देशलाई विश्व समुदायसम्म पुर्‍याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।