पत्नीको शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको नरेश भट्टको स्वीकार

अमेरिकामा पत्नी ममता काफ्लेको हत्या अभियोगमा मुद्दा खेपिरहेका नरेश भट्टले उनको शव टुक्राटुक्रा पारेको स्वीकार गरेका छन्। भर्जिनियास्थित अदालतमा बयान दिँदै भट्टले सन् २०२४ जुलाई ३० मा ममतालाई बेडरुमको भुइँमा अचेत अवस्थामा फेला पारेको दाबी गरेका छन् ।

उनले ममताको मुख र भुइँमा रगत, खानाका टुक्रा, क्याप्सुल तथा कीटनाशक विषादी ‘सेलफोस’ का अवशेष देखिएको बताएका छन्। भट्टका अनुसार उनले ममतालाई बचाउन सीपीआरलगायतका प्रयास गरेका थिए । त्यसपछि शवलाई बाथरुममा सारेको र सुरुमा शारीरिक शक्ति नपुगेपछि शव व्यवस्थापनको काम रोक्नुपरेको उनले अदालतमा बताएका छन् ।

उनले ममताको मृत्युपछि सुरुमा शरीरको तल्लो भाग अर्थात् खुट्टा अलग्याउने प्रयास गरेको बयानसमेत दिएका छन्। यस घटनामा ममताको शव अहिलेसम्म फेला परेको छैन । भट्टमाथि पत्नीको हत्या तथा शव लुकाएको अभियोग लागेको छ। सन् २०२४ अगस्टमा पक्राउ परेयता उनी हिरासतमा छन्।