काठमाडौँ, २७ कात्तिकः नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि तथा ‘डेटा सेन्टर’मा लगानी गर्न आग्रह गर्नुभएको छ । युएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट’ मा सहभागी हुन त्यहाँ पुग्नुभएका अध्यक्ष ढकालले बिहीबार दुबईमा युएईका विदेश व्यापारमन्त्री डा थानी बिन अहमद अल जेउदीसँगको भेटमा यस्तो आग्रह गर्नुभएको हो । पूर्वअध्यक्ष ढकालको निजी सचिवालयका अनुसार उहाँहरूबीच नेपाल–युएई सम्बन्ध, व्यापार विस्तार तथा नेपालमा उपलब्ध लगानीका अवसरबारे छलफल भएको थियो । फ्लाई दुबईले युएईबाट पोखरा अन्तरराष्ट्रिय विमानस्थलसम्म सिधा उडान सुरु गरेकामा त्यसको प्रशंसा गर्दै भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा पनि सिधा उडान सञ्चालनका लागि प्रयास गर्न अनुरोध उहाँले गर्नुभयो ।


















