पोखरा, नेपाल। घर निर्माण गर्नुअघि भूमिको प्रकृति, माटोको गुणस्तर तथा जमिनको उपयुक्तता परीक्षण गर्नुपर्ने मान्यता प्राचीन वास्तुशास्त्रीय परम्परामा महत्त्वपूर्ण रूपमा उल्लेख गरिएको छ। घर केवल इँटा, ढुङ्गा र सिमेन्टले बनेको संरचना नभई परिवारको सुरक्षा, सुख, शान्ति र भविष्यसँग जोडिएको विषय भएकाले निर्माण कार्य सुरु गर्नुअघि भूमिपरीक्षण गर्नुपर्ने शास्त्रीय मान्यता रहँदै आएको छ।
वैदिक वास्तुशास्त्रमा भूमिपरीक्षालाई भवन निर्माणको प्रारम्भिक प्रक्रियाका रूपमा लिइएको पाइन्छ। भूमिको रङ, गन्ध, माटोको बनावट, ढलान, जलधारण क्षमता तथा प्राकृतिक अवस्थाको अध्ययन गरेर निर्माणस्थलको उपयुक्तता पहिचान गर्ने विधिलाई भूमिपरीक्षा भनिन्छ। मयमतम् र मानसारजस्ता प्राचीन वास्तुशास्त्रीय ग्रन्थहरूमा भूमि छनोट तथा भवन निर्माणसम्बन्धी विभिन्न सिद्धान्तहरू उल्लेख गरिएका छन्।
पछिल्लो समय आधुनिक विज्ञानले समेत घर निर्माण गर्नुअघि माटो परीक्षण (Soil Testing) गर्नुपर्ने आवश्यकतालाई विशेष महत्त्व दिएको छ। माटोको भारवहन क्षमता, घनत्व, पानीको सतह तथा जमिनको स्थिरता परीक्षण गरेर मात्र भवनको जग र संरचनात्मक डिजाइन तयार गर्नु सुरक्षित निर्माणका लागि आवश्यक मानिन्छ।
यस विषयमा पोखराका चर्चित युवा ज्योतिषी भवेश भट्टराईले घर निर्माणलाई केवल भौतिक संरचना निर्माणका रूपमा मात्र नभई शास्त्रीय ज्ञान, पारिवारिक सुरक्षा र दीर्घकालीन भविष्यसँग जोडेर हेर्नुपर्ने बताउनुभएको छ। उहाँका अनुसार प्राचीन वास्तुशास्त्रमा भूमिपरीक्षालाई विशेष महत्त्व दिइएको छ। मानिसले जीवनभरको परिश्रम र कमाइ लगानी गरेर घर निर्माण गर्ने भएकाले निर्माण सुरु गर्नुअघि जमिनको प्रकृति र माटोको अवस्था बुझ्नु आवश्यक हुन्छ।
उहाँले ज्योतिषशास्त्र र वास्तुशास्त्रका अध्ययन क्षेत्र फरक भए पनि घर निर्माणको सन्दर्भमा दुवैको आ–आफ्नै महत्त्व रहेको उल्लेख गर्नुभएको छ। भूमिको प्रकृति, दिशानिर्धारण तथा भवनको विन्यास वास्तुशास्त्रसँग सम्बन्धित विषय हुन् भने शिलान्यास मुहूर्त, निर्माण प्रारम्भको शुभ समय तथा गृहप्रवेश मुहूर्त ज्योतिषशास्त्रसँग सम्बन्धित विषय हुन्।
भट्टराईका अनुसार शास्त्रीय परम्परा र आधुनिक विज्ञानलाई एकअर्काको प्रतिस्पर्धीका रूपमा नभई परिपूरक दृष्टिकोणबाट बुझ्न आवश्यक छ। वास्तुशास्त्रीय मान्यताअनुसार भूमिको अध्ययन गर्नुका साथै आधुनिक इन्जिनियरिङ विधिबाट माटो परीक्षण गराउनु पनि उत्तिकै महत्त्वपूर्ण छ। शुभ मुहूर्तमा निर्माण कार्य प्रारम्भ गर्नु धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण भए पनि भवनको वास्तविक सुरक्षा सुनिश्चित गर्न प्राविधिक परीक्षण र योग्य इन्जिनियरको सुझाव अनिवार्य रूपमा लिनुपर्ने उहाँको धारणा छ।
विशेषगरी कमजोर माटो, उच्च जलस्तर, भिरालो जमिन तथा भौगोलिक जोखिम भएका क्षेत्रमा उचित परीक्षणबिना निर्माण गर्दा भविष्यमा संरचनागत समस्या उत्पन्न हुन सक्ने भएकाले यस विषयमा सर्वसाधारण सचेत हुनुपर्ने देखिन्छ।
आजको बदलिँदो परिवेशमा प्राचीन शास्त्रीय ज्ञान र आधुनिक वैज्ञानिक उपलब्धिबीच समन्वय कायम गर्नु आवश्यक देखिएको छ। घर निर्माण गर्दा भूमि परीक्षण, माटोको वैज्ञानिक विश्लेषण, वास्तुशास्त्रीय अध्ययन, संरचनात्मक सुरक्षा र शुभ मुहूर्तलाई आ–आफ्नो क्षेत्रअनुसार उचित महत्त्व दिन सके सुरक्षित तथा व्यवस्थित आवास निर्माणमा सहयोग पुग्न सक्छ।
अन्ततः घर निर्माणको पहिलो आधार नै भूमि हो। भूमिको प्रकृति नबुझी निर्माण कार्य सुरु गर्नु उपयुक्त हुँदैन। प्राचीन वास्तुशास्त्रले दिएको भूमिपरीक्षाको ज्ञान र आधुनिक विज्ञानले विकास गरेको माटो परीक्षण विधिलाई समन्वय गर्दै अघि बढ्नु आजको आवश्यकता हो।
लेखक : ज्योतिषी भवेश भट्टराई
दक्षिण एशियाली ज्योतिष महासङ्घ, केन्द्रीय सदस्य
पोखरा, नेपाल।

















