काठमाडौँ । निर्वाचन आयोगले आसन्न निर्वाचनबारे प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दैछ ।
आयोगले ११ बजेपछि राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सभापति र अध्यक्षहरूसँग छलफल गर्न लागेको हो ।
उक्त छलफलमा सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुने ती दलका नेताहरूले बताएका छन् । रास्वपाका प्रवक्ता जगदीश खरेलले आयोगको छलफलमा सभापति लामिछाने सहभागी हुने बताए ।
त्यस्तै, कांग्रेस महामन्त्री प्रदीप पौडेलले सभापति गगन थापा आयोगको छलफलमा सहभागी हुने बताए । एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले पनि आयोगको छलफलमा अध्यक्ष केपी शर्मा ओली सहभागी हुने बताए ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक प्रचण्ड पनि आयोगको छलफलमा जाने प्रचण्डको सचिवालयले जनाएको छ । निर्वाचन आयोगले प्रदेश तथा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने वा अलग अलग गर्ने भन्ने बारेमा दलहरूको धारणा बुझ्न प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्न लागेको हो ।


















