नेपाली क्रिकेट टोलीले सन् २०२७ मा इङ्ल्यान्डमा छ खेल खेल्ने

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले सन् २०२७ मा इङ्ल्यान्ड भ्रमण गरी स्कटल्यान्ड, बङ्गलादेश र आयरल्यान्डसँग छ खेल खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी भ्रमणको खेलतालिका सार्वजनिक गरेको हो । भ्रमणका क्रममा नेपालले जुन १ मा स्कटल्यान्डसँग एकदिवसीय खेल खेल्दै भ्रमणको सुरुआत गर्नेछ । त्यसपछि जुन ३ मा इङ्ल्यान्डको ऐतिहासिक क्रिकेट मैदान लड्र्समा बङ्गलादेशसँग टी–२० अन्तरराष्ट्रिय खेल खेल्नेछ ।

नेपालले जुन ६ मा आयरल्यान्डसँग एकदिवसीय तथा जुन ९, ११ र १२ मा सोही टोलीसँग तीन टी–२० अन्तरराष्ट्रिय खेल खेल्ने क्यानले जनाएको छ । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)को सहकार्यमा हुन लागेको भ्रमणलाई नेपाल र एमसिसीबीच पछिल्ला वर्षमा विकसित हुँदै गएको घनिष्ठ सम्बन्धको उदाहरणका रूपमा लिइएको छ । दुवै संस्थाले नेपालमा क्रिकेटको विकास, युवा खेलाडीलाई अवसर प्रदान तथा अन्तरराष्ट्रिय साझेदारी विस्तारका क्षेत्रमा सहकार्य गर्दै आएका छन् ।

एमसिसी फाउन्डेसनले सन् २०१९ देखि नेपालमा क्रिकेटमार्फत सकारात्मक सामाजिक परिवर्तन ल्याउने उद्देश्यले विभिन्न परियोजना सञ्चालन गर्दै आएको छ । क्रिकेटमा सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिँदै क्यानसँगको सहकार्यमा कोशी र मधेस प्रदेशमा कार्यक्रम सञ्चालन भइरहेका छन् । एमसिसीका अनुसार गत वर्ष ती परियोजनामा ४५ हजारभन्दा बढीले सहभागिता जनाएका थिए ।

एमसिसीले गत वर्ष नेपाल प्रिमियर लिग (एनपिएल) सँगको सहकार्यमा ‘स्पिरिट अफ क्रिकेट अवार्ड’ पनि सुरु गरेको थियो । पत्रकार सम्मेलनमा एमसिसीका प्रमुख कार्यकारी तथा सचिव रोबर्ट लसनले नेपाल र क्यानसँगको सम्बन्ध पछिल्ला वर्षमा उल्लेखनीय रूपमा बलियो बनेको बताए । उनले नेपालमा क्रिकेटप्रतिको असाधारण लगाव आफूहरूले प्रत्यक्ष अनुभव गरेको उल्लेख गर्दै खेलले मानिसलाई एकताबद्ध बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

क्यानका सचिव पारस खड्काले लड्र्समा पुन: खेल्न पाउनु नेपाली क्रिकेटका लागि गर्व र सम्मानको विषय भएको बताए । एमसिसीसँगको निरन्तर साझेदारीले नेपालको क्रिकेट विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै उनले बङ्गलादेश क्रिकेट बोर्ड, क्रिकेट आयरल्यान्ड, क्रिकेट स्कटल्यान्ड र इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (इसिबी)लाई सहयोगका लागि धन्यवाद दिए।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बङ्गलादेशजस्तो अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को पूर्ण सदस्य राष्ट्रसँग लड्र्समा खेल्न पाउनु नेपाली क्रिकेटका लागि ऐतिहासिक उपलब्धि हुने बताए । उनले यस अवसरका लागि एमसिसी, इसिबी, बिसीबी, क्रिकेट स्कटल्यान्ड र क्रिकेट आयरल्यान्डप्रति आभार व्यक्त गरे ।