नेपालमा बन्धक बनाइएका चार बङ्गलादेशीको उद्धार, आरोपी पक्राउ

बङ्गलादेशी नागरिकलाई वैदेशिक रोजगारको लागि क्यानडा, इटालीलगायतका देशमा पठाइदिने विश्वासमा पारी नेपालमा ल्याएर बन्धक बनाइएका चार जनाको उद्धार गरिएको छ । विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई उद्धार गरी उक्त अपराधमा संलग्न चार जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार काठमाडौँ महानगपालिका–१६ पकनाजोलस्थित निभाना ग्रीन पिस होम नामक होटलको कोठामा बन्धक बनाएर राखेको अवस्थामा उनीहरूको उद्धार गरिएको हो । उक्त कार्यमा संलग्न रहेका बङ्गलादेशी नागरिक नुरूल हुडा, सामिम अहमद, एमडी मासुम बिल्लाह र प्रणय कुमारलाई पक्राउ गरिएको छ ।

गिरोहले पीडितहरूको पासपोर्ट नियन्त्रणमा लिई विभिन्न किसिमका धाकधम्की, कुटपिट गर्नुका साथै आफन्तसँग सम्पर्क गर्न नदिई साथमा रहेको नगदसमेत लगेर जबर्जस्ती बन्धक बनाइराखेको पीडितहरूले प्रहरीमा बयान दिएका छन् । उनीहरूमाथि अपहरण तथा शरीर बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ । त्यस्तै, पीडितहरूलाई नेपालस्थित बङ्गलादेशी राजदूतावासमार्फत पठाइने जनाइएको छ ।