मस्कोमा आतङ्ककारी आक्रमणमा ६० जनाको मृत्यु

मस्को । रुसको राजधानी मस्कोको बाहिरी भागमा रहेको कन्सर्ट हलमा गोली चल्दा ६० जनाभन्दा बढीको मृत्यु भएको छ । घटनामा सयभन्दा बढी घाइते भएको बिबिसीले जनाएको छ ।रुसी अनुसन्धान समितिका अनुसार आक्रमणमा मृत्यु हुनेमा बालबालिका पनि रहेका छन् ।
रुसी विदेशमन्त्रीले यसलाई आतंकवादी हमला भनेका छन् ।

रुस संग युद्द लडिरहेको युक्रेनले भने आक्रमणमा आफ्नो संलग्नता नरहेको जनाएको छ ।रुसी राष्ट्रपति कार्यालयले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा एक विज्ञप्ति जारी गद सुरक्षा एजेन्सीहरूले चालेका कदमहरूको बारेमा निरन्तर जानकारी दिइरहेको जनाएको छ। पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले पुटिनले यस विषयमा सम्बन्धित सबै विभागलाई निर्देशन दिएको पनि जनाएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मस्कोमा भएको आक्रमणमा मारिएका व्यक्तिप्रति दु:ख व्यक्त गरेका छन् ।  उनले ट्विट गरेका छन्, ‘हामी मस्कोमा भएको जघन्य चरमपन्थी हमलाको कडा निन्दा गर्छौँ।  हाम्रो प्रार्थना पीडित परिवारसँग छ। दु:खको यस घडीमा भारत रुसी सरकार र त्यहाँका जनताको साथमा छ।’यता ह्वाइट हाउसले रुसी अधिकारीहरूलाई मार्चको सुरुमा मस्कोमा ’ठूलो भीड’ मा आक्रमण हुनसक्ने जानकारी दिएको बताएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले भने, ‘यो महिनाको सुरुमा अमेरिकी सरकारलाई मस्कोमा कन्सर्ट जस्ता भिडभाड हुने ठाउँहरूलाई लक्षित गरी आतंकवादी हमलाको योजना बनाइएको जानकारी थियो। अपुष्ट समाचार अनुसार चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) ले आक्रमणको जिम्मेवारी लिएको छ ।