भिरबाट लडेर एक महिलाको मृत्यु

बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृत्यु हुनेमा सोही गाउँपालिका–५ रिठ्ठाकी ४१ वर्षीया अपसरी बुढथापा रहेकी छन् ।

प्रहरीका अनुसार आज बिहान गाउँ नजिकै रहेको बालभिटा मेलामा घाँस काट्न गएका बेला बुढथापाको लडेर घटनास्थलमै मृत्यु भएको हो । बिहान भिरबाट दुई सय मिटर तल खस्दा बुढथापाको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले भिरबाट लडेर मृत्यु भएकी बुढथापाको शवपरीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा शव राखिएको जनाएको छ ।