उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरको टोलीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ का ३५ वर्षीय मनोज राई र काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ का ३० वर्षीय रवीन्द्र श्रेष्ठ छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले पक्राउ परेका राई लागुऔषध खैरो हेरोइनको कारोबारी भएको बताएका छन् । प्रहरीका अनुसार पक्राउ परेका मध्ये राई भारतीय सेना(गोर्खा रेजिमेन्ट)मा कार्यरत सिपाही रहेको खुलेको छ । उनीमाथि थप अनुसन्धान जारी छ । राईको साथबाट प्रहरीले ४१ ग्राम खैरो हेरोइन बरामद गरेको छ । यस्तै, १० ग्राम खैरो हेरोइन बिक्री गरेबापत प्राप्त ४३ हजार रुपैयाँ समेत बरामद गरिएको छ ।


















