विदेशी बुहारी-ज्वाईको जगमा उभिएको प्रचण्ड सरकारको रहस्य

खोक्रो राष्ट्रवादको नारा दिएर नथाक्ने प्रचण्डसँग जवाफ छ ?

कुनैपनि देशको राष्ट्रियता उक्त देशका नागरिकका लागि निकै संवेदनशील हुन्छ । देशको राष्ट्रियता भन्नाले देशको भुगोल मात्र होईन संस्कार, संस्कृति, स्वाधिनता र देशका गोप्य सूचनाहरुको सुरक्षा समेत पर्दछ । त्यसैले देशका गोप्य सूचना बाहिर नजाउन भनि सार्वजनिक पदमा पुग्नेलाई पदभार समाल्नुअघि पद तथा गोपनियताको सपथ खुवाइने गरिन्छ । उनीहरु कसैको प्रलोभनमा नपरी राष्ट्रको पक्षमा काम गरुन र राष्ट्रलाई हानी हुने काम नगरुन भनेर यसो गरिएको हो ।

अन्य देशहरुमा विदेशी नागरिकसंग सम्बन्ध भएका राजनीतिकर्मीलाई सत्ता प्रवेशमा रोकनै लगाईएको हुन्छ । भारतमा भारतीय राष्ट्रिय कांग्रेसले प्रचण्ड बहुमत साथ सरकार बनाउन लागेको समयमा कांग्रेस अध्यक्ष सोनिया गान्धी विदेशी भएकै कारण उनलाई प्रम बन्न दिईएन । र, डा.मनमोहन सिंह भारतको प्रम बने । यस्ता थुप्रै उदाहरण विश्व राजनीतिमा पाईन्छन । तर नेपालमा भने राष्ट्रियताको चर्काे नारा लगाउने तर काम विदेशीको पक्ष पोषण गर्नै हुँदै आएको छ । यसको सुरुवात कांग्रेस नेतृ सुजाता कोईरालाले गरिन । सुजाता जोष्ट नेपालको शक्तशाली उप प्रधानमन्त्री मात्रै बनिनन, परराष्ट्र जस्तो संवदनशिल मन्त्री पनि बन्न सफल भईन । भनिन्छ, नेपालको राजनीतिमा विदेशीको प्रवेश यसै बिन्दुबाट शुरु भयो । सुजाता पछि नेपाली कांग्रेसका नेता नारायण खड्कालाई पनि विदेशी भित्र्याउने पात्रको रुपमा चिनिन्छ । क्यानेडेली श्रीमती भएका खड्का पनि परराष्ट्र मन्त्री बन्न सफल भए । यो क्रम झागिंदै गयो र २०६२/२०६३ पछि त विदेशी हैकम नेपालको राजनीतिमा छताछुल्लनै हुन पुग्यो । हुँदाहुँदा धर्म परिवर्तनको आरोप खेपेका र होली वाइन कार्यक्रमका आयोजक एकनाथ ढकाल, जसको श्रीमति एशियाली क्रिश्चियन संघको अध्यक्ष, फिलिपिनो नागरिक, परिवार दलको नाममा प्रभावशाली मन्त्रि बन्न सफल भए ।

नेपालमा राष्ट्रवादको नारा अलाप्ने प्रधानमन्त्री प्रचण्ड यसमा भलिभाँति परिचित छन् तर पनि विदेशीको चाकरी गर्न थाहा नभए जस्तो गरिरहेका छन । अहिलेका प्रधानमन्त्री प्रचण्डको मन्त्री परिषदमा रहेकी एकजना मन्त्री नै विदेशी नागरिकको श्रीमती हुन । रास्वपा(राष्ट्रिय स्वतन्त्र पार्टी)बाट शिक्षामन्त्री बनेकी सुमना श्रेष्ठनै पोल्याण्डका नागरिककी श्रीमती हुन् । उनलाई पोल्याण्डकी नागरिक हुन भन्दा फरक पर्दैन । उनले दोस्रो विवाह पोल्याण्डको नागरिकसँग गरेकी छन् । सुमना मन्त्री बन्नु अघि उनका श्रीमान नेपालभन्दा बढी पोल्याण्डमा नै बस्ने गर्दथे । तर सुमना मन्त्री बनेपछि भने उनी सुमनासंग मन्त्री क्वाटरमा नै बस्दै आएका छन् ।

देशले क्याबिनेटमा भएका कयौँ निर्णय गोप्य राख्नुपर्ने हुन्छ । मन्त्री क्वाटरमा क्याबिनेटमा हुने निर्णयबारे छलफल र चर्चा चल्नु स्वभाविक हुन्छ । यो चर्चा र कुराकानी हुँदा सुमनाका श्रीमानले नसुन्ने कुरै भएन, जसले गर्दा देशकै संवेदनशिल सूचना विदेशीसम्म सहजै पुग्ने खतरा देखिएको छ । कतै नेपालको नीति निर्माण तहमा हस्तक्षेप गर्न सुमनालाई शिक्षा जस्तो महत्वपूर्ण मन्त्री बनाईएको त होईन भन्ने चर्चा छ ।
रास्वपाले यसअघि शिक्षामन्त्री बनाएका शिशिर खनाल पनि टिच फर नेपालका उपाध्यक्ष थिए । टिच फर नेपाल भन्ने संस्था पनि अमेरिकी र युरोपेली गैर सरकारी संस्थाको लगानीमा संचालित संस्था हो । यसमा अमेरिक गुप्तचर संस्था सि आई एको समेत लगानी भएको चर्चा छ ।  त्यसबेला पनि रास्वपाले विदेशीप्रति नरम व्यक्तिनै शिक्षामन्त्री बनाएको थियो । उनकी श्रीमती पनि अमेकामानै बसोबास गर्छिन । विगतमा उनी अमेरिकी नागरिक बन्न नागरिकता लिने क्रममा थिइन् ।

यसैगरी, रास्वपाका उपाध्यक्ष स्वर्णीम वाग्ले सबैभन्दा बढी राष्ट्रियताका कुरा गर्ने वक्ता हुन । स्वर्णीमकी श्रीमती भियतनामी नागरिक हुन् । उनी भियतनामी धनाड्य कि छोरी हुन । उनको पढाईलेखाइ अमेरिकामा भयो । उनका बुवा अमेरिकामा उद्योग गर्छन् । उनी अहिले अमेरिकानै बस्छिन । स्वर्णीम आफै पनि एमसीसी जस्ता अमेरिकी परियोजनाका पक्षमा खुलेर वकालत गर्ने व्यक्ति हुन् । त्यसैगरि हालै रास्वपाको कोटाबाट योजना आयोगका सदस्य बनेका अरनिको पाण्डेकी आमा स्वीस नागरिक हुन भने श्रीमती अमेरिकी नागरिक हुन । योजना आयोग जसले सिंगो देशको योजना नीति निर्माण गर्दछ त्यस्तो संवेदनशिल ठाउँमा विदेशप्रति झुकाव भएको व्यक्ति हुनु आफैमा संवेदनशिल बिषय हो ।

त्यसो त रास्वपाका अध्यक्ष रबी लामिछाने आफैले पनि विदेशी अर्थात अमेरिकी नारिकता लिएर पछि छाडेको जग जाहेरै छ । डिपी अर्याल पनि जापानले डिपोर्ट गरेका व्यक्ति हुन । यसरी हेर्दा रास्वपामा अमेरिका र युरोपियन गैर सरकारी संस्थामा काम गर्नेको बाहुल्यता छ । देशको भन्दा विदेशको माया भएका नेताहरु नीति निर्माण तहमा हुँदा देशको भविष्य के होला ?, अन्धभक्तहरुले सोच्नु पर्दछ ।

त्यही छिमेकी देश भारतमा सोनिया गान्धि विदेशी मूलको भनेर प्रधानमन्त्री बनाइएन । आफूलाई प्रजातान्त्रिक भन्ने अमेरिकाले समेत विदेशी नागरिकलाई संवेदनशिल ठाँउमा जिम्मा दिन्न । राष्ट्रियताको अर्ति दिने र  विदेशी एजेष्टको वैशाखी टेकेर डिंग हाक्ने यो प्रचण्डको कस्तो राष्ट्रबाद हो ?

रास्वपा स्थापना कालदेखि नै विवादित छ । एमाले, कांग्रेस, माओवादी जस्ता परम्परावादी दलसँग जनता रुष्ट भएको समयमा युवाहरुको नाममा जनताको वितृष्णा सम्बोधन गर्न रास्वपाको गठन भएको भन्ने जमातको कमी छैन । परम्परागत दलभित्र हस्तक्षेप गर्ने र विस्तारै रास्वपामार्फत आफ्नो उद्देश्य प्राप्त गर्ने विदेशीहरुको नियोजित षडयन्त्रको सांग्लो विदेशी ज्वाई र बुहारीको हर्कतले देखाउँदछ ।

सिक्किम विलयमा सिक्किमका तत्कालिन राजा चोग्यालकी अमेरिकी श्रीमतीको ठुलो हात भएको तथ्य वि.एस.दासको पुस्तकमा लेखिएको छ । यस्तै नेपाली चोग्यालका आफन्तबाट कतै नेपाल विलयको प्रपञ्च त हुँदै छैन ? गम्भिर प्रश्न खडा भएको छ । होइन भने सहकारी विवादमा प्रत्यक्ष  मुछिएका रबि लामिछाने उपर किन कारवाही हुँदैन ? किन प्रचण्ड र के.पी. ओली उनको बचाउ गर्न ढाल बनिरहेका छन् । गम्भिर प्रश्न प्रचण्डको खोक्रो राष्ट्रवादतर्फ सोझिन्छ ।