उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि यूरोपेली संघ(ईयू)का राजदूत भेरोनिक लोरेज्नोले शिष्टाचार भेट गरेकी छन् । उपराष्ट्रपति यादव र ईयूका राजदूत लोरेज्नोबीच लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज बिहीबार शिष्टाचार भेट भएको हो ।
भेटमा शुभकामना आदानप्रदानपछि द्विपक्षीय सम्बन्ध, जलवायु परिवर्तनलगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको जनाइएको छ । उपराष्ट्रपति यादवले नेपाल र ईयूबीच सन् १९७४ यता कायम रहेको घनिष्ठ, सौहार्द्रपूर्ण एवम् मैत्रीपूर्ण सम्बन्धबाट आफू सन्तुष्ट रहेको उल्लेख गर्दै नेपालले ईयूसँगको साझेदारीलाई उच्च महत्त्व दिँदै आएको बताएका छन् । उनले भने, ‘यो वर्ष हामीले नेपाल र ईयूबीच कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण वार्षिकोत्सव मनाइरहेका छौँ । यस सुखद उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु । ईयू नेपालको प्रमुख विकास साझेदार हो । स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई र ग्रामीण विकासमा ईयू समर्थित कार्यक्रमहरू हाम्रा लागि उपयोगी र महत्त्वपूर्ण छन् । मलाई आशा छ अगामी दिनहरुमा सहयोगको दायरा र परिमाण नेपालका उत्पादनशील क्षेत्रहरूमा विस्तार र वृद्धि हुँदै जानेछन् ।’
विशेषगरी कर्णाली प्रदेशमा ईयूको सहयोग अन्तर्गतका आयोजनाले ती दुर्गम क्षेत्रका सर्वसाधारणलाई धेरै फाइदा पुगेको उनले बताए । उपराष्ट्रपति यादवले महामारी र जलवायु परिवर्तन लगायत विश्वले पछिल्लो समय सामना गरिरहेको प्रकृतिका चुनौतीहरूमा बहुपक्षीय सहकार्य पहिलेभन्दा बढी आवश्यक भएकामा थप सहकार्य गर्न नेपाल तत्पर रहेको बताएका छन् । नेपाल–ईयू सम्बन्ध थप सुदृढ, प्रगाढ एवम् बलियो हुने र नेपाललाई प्राप्त हुने विकास सहयोगको निरन्तरतामा सकारात्मक प्रभाव पर्ने बताउँदै उनले नेपाललाई राजनीतिक रूपान्तरणको वर्तमान चरणमा पुग्न अन्तर्राष्ट्रिय समुदायबाट धेरै सद्भाव र समर्थन प्राप्त भएको पनि बताए ।
भेटमा नेपालका लागि इयूका राजदूत भेरोनिक लोरेन्जोले नेपालको संस्कृति धेरै विकसित रहेकोमा प्रशंसा गर्दै ईयूले सामाजिक समावेशीकरण र शिक्षा क्षेत्रमा काम गर्न चाहेको बताइन् । उनले भनिन्, ‘नेपालले लगानी र आर्थिक बृद्धि गरी कृषिसहित विभिन्न क्षेत्रको विकासमा जोड दिनु सकारात्मक हो । नेपालमा ईयूको सहयोग निरन्तर रहने छ । यसै महिना ईयूले भारतमा रहेका सयभन्दा बढी कम्पनीलाई सहभागिता गराई ‘बिजनेस फोरम’ सम्मेलनको आयोजना गर्ने तयारी गर्दैछ ।’ उनले नेपालमा ईयूले सुदूरपश्चिम, कर्णाली तथा मधेश प्रदेशमा आफ्नो सहयोगलाई केन्द्रित गरेको समेत बताएकी छन् ।



















